काठमाडौं । अघिल्लो संस्करणको विजेता ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ ।
रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतवार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।
रोड्रिगो डे पउलले डिफेन्स लाइनबाट उपलव्ध गराएको लामो पासलाई सदुपयोग गर्दै डि मारियाले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा भलि गर्दै शानदार गोल गरेका थिए ।
सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।
यसक्रममा २००४ र २००७ को फाइनलमा ब्राजिलसँग र २०१५ र २०१६ मा चिलीसँग लगातार फाइनल गुमाएको अर्जेन्टिना जितका लागि आतुर रहेको थियो ।
त्यसै गरि प्रतियोगिता अवधिभर उत्कृष्ट प्लेयर र उच्च स्कोरर हुँदै गोल्डेन बल मेस्सीले जिते भने उत्कृष्ट गोलकिपरको पुरस्कार गोल्डन ग्लव्स अर्जेन्टिनाकै गोलकिपर मार्टिनेजले जिते ।