काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पार्टी एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक स्थगित भएको हो ।
शनिवार साँझ तयार गरेको मस्यौदालाई आज बस्ने स्थायी समितिको बैठकमा अनुमोदन गर्ने कार्यतालिका बनाइए पनि सहमतिमा हस्ताक्षर हुन सकेन ।
आज विहान ११ बजे बस्ने भनिएको बैठक वार्ता टोलीलाई पर्खेर ४ बजे सारिएको थियो । 'रातरहे अग्राख पलाउँछ' भने झैं माधव नेपालले द्धितीय अध्यक्षको प्रस्ताव सहमतिमा राख्न दबाब बढाए पछि समूहका कार्यदलका सदस्य सिंहदरवार र कोटेश्वर दौडँदा दौडँदै समय घर्किएको हो ।
यद्यपि ओली समूह २०७५ साल जेठ २ गतेको सांगठनिक एवं बैधानिक व्यवस्था अनुसारै अगाडि बढ्न तयार भए पनि नेता नेपालले सो पनि लत्याउँदै थप माग राख्न थालेकाले एकता प्रक्रिया नै अवरुद्ध बन्ने चरणमा पुगेको हो. स्रोतले बतायो ।
अब भोलि आउने सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने कार्यालय सचिव शेरवहादुर तामाङले बताए । अब वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको उनले बताए ।
सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको समर्थन फिर्ता आजसम्म नभएकाले अब नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ ।
स्थायी कमिटी बैठकका लागि उपत्यकाबाहिरका नेताहरुलाई समेत काठमाडौं बोलाइएको थियो ।