काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरुले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकका बीचमा पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलसहितका नेताहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिए । डा रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक चलाउन माग गरिएको जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।
पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गरे ।
उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए ।