बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

२०७८, श्रावण १३ बुधवार

  • 1.0K
    SHARES

  • बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

    बझाङ । नेकपा (एमाले) भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए । 

    उनले भने, “पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।” जिल्लाका शीर्ष नेताहरुबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो । 

    पूर्ववनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए ।

    उनले भने, “एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरु पनि  एकताको पक्षमा उभिएका हौँ । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ । 

    जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उनले भने । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन् ।

    हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले  एकताको छलफल करीब अन्तिम चरणमा पुगेको  अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताइन् । 

    २०७८, श्रावण १३ बुधवार०१:३१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार