टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

२०७८, श्रावण १४ बिहिवार

  • 833
    SHARES

  • टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

    टोकियो । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । 

    सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

    टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ । 

    विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।

    यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । देशभरी भने झण्डै सात हजार सङ्क्रमित भएको देखिएको छ । 

    गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो । 

    महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ । 

    महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्चसतर्कता र उच्चसुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ । 

    जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ । 

    टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन् ।- एजेन्सी । 

    २०७८, श्रावण १४ बिहिवार०७:१५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार