कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

२०७८, श्रावण १५ शुक्रवार

  • 933
    SHARES

  • कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । 

    कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।     

    कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।

    बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद समाधान गरी आजको बैठकमा परिमार्जनसहितको प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । यद्यपी प्रतिवेदनमा केही विवाद बाँकी नै छन् ।  

    बाँकी विवाद पदाधिकारी सम्मिलित नेतत्व तहले दुई÷चार दिनमा समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने सहमहामन्त्री डा महतले बताए । 

    कांग्रेसले २०७७ साल फागुन ६ गते आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

    बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला गरेर प्राप्त भएकाले पूरै बाँकी रहेको छ । त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।

    यसमध्ये समितिले केही विवाद समाधान गरी आज प्रतिवेदन पदाधिकारी बैठकमा बुझाएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । 

     

     

    २०७८, श्रावण १५ शुक्रवार०७:४४:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार