नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

२०७७, पौष ३ शुक्रवार

  • 2.4K
    SHARES

  • नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

    पौष ३, काठमाडौँ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो । 

    वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो । 

    श्रीलङ्कामा जन्मिएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी हुन् । उनकै प्रशिक्षणमा श्रीलङ्काले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

    उनले सन् २००३ देखि सन् २००७ सम्म बङ्गलादेशका प्रशिक्षकका रुपमा काम गरेका थिए । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

    यस्तै उनले सन् २०१० र २०११ को याममा इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिएका थिए ।  

    वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका थिए । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनी सन् २०२० मा सिङ्गापुरको प्रशिक्षक बनेका थिए । वाटमोर श्रीलङ्काको कोलम्बोमा जन्मिएका हुन् ।

    सन् १९६२ मा उनको परिवार अष्ट्रेलिया बसाइ सरेको हो । वाटमोरले सन्  १९८९ मा खेल जीवनबाट सन्यास लिएका हुन् । त्यसपछि उनी विभिन्न देशमा प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।  

    क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए ।

    क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । अन्तिममा १२ जनाको अन्तर्वार्ता लिएको थियो । 

    गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पछिल्लो समय जगत टमटाले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

    यस्तै क्यानले रौनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य वित्त व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ । 

    २०७७, पौष ३ शुक्रवार०७:४८:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार