पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

२०७८, श्रावण १९ मंगलवार

  • 1.0K
    SHARES

  • पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।

    उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।  

    लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भने ।  

    नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे ।  

    खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाउनुभयो भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए । 

    २०७८, श्रावण १९ मंगलवार१२:१४:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार