को हुन् देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य ?

को हुन् देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य ?

२०७८, भाद्र ३ बिहिवार

  • 929
    SHARES

  • को हुन् देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य ?

    बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् । 

    नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छन् । पार्टीमा बरिष्ठ नेता भएर पनि अढाई वर्ष अगाडी मुख्यमन्त्रीमा रहेको दावीलाई सफल बनाउँदै शाक्य मुख्यमन्त्री बन्न सफल भएकी छन् ।

    शाक्य भन्दा कनिष्ठ विद्या भण्डारी राष्ट्रपति बन्दा पनि शाक्यलाई ओली समूहले रोक्दाको परिणाम आज पार्टी फुटको अवस्थामा पुगेको छ । शाक्य मुख्यमन्त्री बनिरहँदा नेकपा एमाले(समाजवादी) पार्टी दर्ताका लागि शाक्यको पुर्व समूह माधव नेपाल सहितका नेताहरु भने निर्वाचन आयोग पुगेका छन् ।   

    मुख्यमन्त्री शाक्यको पृष्ठभूमि 

    एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्यसमेत थिइन् । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरेकी थिइन् । 

    शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील छन् । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परेकी थिइन् । र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत भइन् । उनी निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये हुन् । 

    मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तति हुन् । मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।   

    भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन् । उनीसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकी थिइन् । शाक्यले विसं २०२८ मा एसएलसी पास गरेकी थिइन् । एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लागिन् । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो ।  

    उनले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थालि प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाडेकी थिइन् । मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाएकी थिइन् । चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उनको योगदानका बारेमा अध्ययन गरेकी थिइन् ।  

    चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउँछिन् । उनले विभिन्न समयमा जेल जीवनसमेत बिताइन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताइन् । विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उनीसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेका उहाँ विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकी थिइन् ।  

    शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएकी बताइन्छ । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गरेकी थिइन् । उनले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ । तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन् ।  

    २०७८, भाद्र ३ बिहिवार०७:४४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार