काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । स्थायी कमिटी बैठक शनिबार पनि बसेको थियो ।
बैठकमा नेकपा एमालेसँग मिलेर बनेको नेकपा विभाजन भएसँगै तल्लो तहसम्मको सांगठानिक संरचना, नेताहरुको कार्यविभाजन, पार्टीको राष्ट्रिय सम्मेलनलगायतको विषयमा छलफल सुरु भएको बताइएको छ ।
आज आइतबारको बैठकमा नेताहरुको कार्यविभाजन तथा पुस ११देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारीको विषयमा टुंगो लगाइने श्रेष्ठको भनाइ छ । त्यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीको नामको विषयमा पनि छलफल हुने बताइएको छ ।