काठमाडौं । नेपाली राजनीतिमा सबै भन्दा अस्थिर पात्र भनेर बामदेव गौतमलाई बुझिन्छ । सायद विघटित पार्टी नेकपा(नेकपा) को सचिवालय टिममा नहुँदा हुन् त नेपाली राजनीतिले अर्कै कोर्स लिन्थ्यो ।
पार्टी सहज ढंगले अगाडी बढ्दो हो त यिनलाई कसैले बोलाउँदैनथ्यो । पार्टी अप्ठ्यारो हुँदा यिनीसबैको प्रिय बन्छन् । हक्की सवभाव र प्रष्ट बोल्ने विशेषता भएकैले यिनी सबैको रोजाइमा परेका हुन् । सबैको प्रिय यस अर्थमा की आफ्नो काम फत्ते गर्नसम्म मात्र यिनी उपयोगमा पर्दछन् र बाँकी समय कामको फलको आशा गर्दैमा यिनका दिन, महिना, वरष वित्तै आएका छन् ।
उनको स्वभावकै कारण एमालेले २०५१ सालमा उपमहासचिव बनाएर पार्टी काम लिन सफल भयो । कार्यकारी महासचिव जत्तिकै शक्तिशाली उपमहासचिव पद पाएपछि एमालेकै महासचिव हुन कोशिस गरेपनि माधवकुमार नेपालका सामु उनको जोड चलेन ।
हुनत माधवकुमार नेपालका पछाडी केपी ओली, इश्वर पोखरेल, प्रदिप नेपाल लगाएतको शक्ति संचय नभएको होइन । महासचिव नपाएको झोँकमा महाकाली सन्धीका विषयमा फरक मत रहेको भन्दै राष्ट्रवादी कहलिन पार्टी नै फोडेर विभाजित पार्टी नेकपा मालेको महासचिव बन्न गौतम सफल भए ।
उनी महासचिव हुँदाको उत्साह २०५६ सालमा भएको एउटै संसदीय चुनावको झट्का नै थाम्न नसकी अधिकांश कार्यकर्ता तत्कालिन नेकपा माओवादी केन्द्रलाई बुझाएर सिपाही बिनाको सेनापति जस्तो भएर लुरुलुरु एमालेमा फर्किए । गौतम एमालेमा फर्किँदा देशभर माओवादी आन्दोलन तातिँदै थियोे ।
सोही समयलाई सदुपयोग गर्दै पुनः माधव नेपालकै आग्रहमा माओवादीसँग वार्ता गर्न रोल्पासम्म पुगेर गौतमले माओवादी अध्यक्ष प्रचण्डसँगको मायापिरती राम्ररी नै गाँस्न सफल भए । सोही माया पिरतीका कारण एमाले र माओवादी केन्द्र एकता अगाडि बढ्दा तत्कालिन अध्यक्ष केपी शर्मा ओलीमा कहिल्यै पनि आरामको निन्द्रा पर्न पाएन । नेता आफ्नो पार्टीको तर सँधै छायाँ प्रचण्ड भएर बैठकमा प्रस्तुत हुँदाको परिणाम नै आजको एमालेको अवस्था हो जानकार बताउँछन् ।
गौतमलाई कति सम्म सकस छ भने माओवादीमा जाउँ, नारायण काजी, कृष्ण बहादुर महरा लगाएतले ढिम्किन दिँदैनन् । त्यसैपनि प्रचण्डलाई एमालेमै बसेर एमालेभित्रै आगो लगाई राख्ने अर्को सहजपात्र मिलिसकेको छैन । गौतमलाई एमाले भएर बसौँ ओलीलाई सघाएको आरोप लाग्छ । यसो नहुँदो हो त गौतम पत्नि तुलसा बिहान माधवकुमार नेपालको संसदीय दलमा अनि दिउँसो केपी शर्मा ओलीको संसदीय दलको बैठकमा हुन्नथिन् ।
गौतमलाई पार्टीप्रति बढि र पदप्रति कम चिन्ता हुन्थ्यो भने उनले पहल गरे नेता केपी शर्मा ओली र माधवकुमार नेपालको घर झगडा २४ घण्टामै साम्य हुन्थ्यो, राजनीतिक पण्डितहरु सुझाउँछन् । तर त्यसो हुन सकिरहेको छैन कारण उनी आफैँ पनि प्रधानमन्त्री बन्न सकिने भए पार्टी नै फुटाउने थिए । अहिलेको कानूनको अवरोधका कारण राष्ट्रिय सभा सम्ममात्र छिरेका गौतम प्रधानमन्त्री नबनी विश्राम नलिने मनस्थितिमा छन् ।
प्रधानमन्त्री ओलीसँगको विमतिका कारण नेता माधवकुमार नेपालले एमाले समाजवादी हुँदै नेकपा एकिकृत समाजवादी बनाउन दौडिरहँदा नेता गौतम पनि सोही लयमा देखिएका थिए । सेकेण्ड, मिनट, घण्टा, दिन बित्दै जाँदा गौतमले फेरि आफ्नो बोली फेरेका छन् । यसले उत्साहित बन्दै गएका नेपाललाई निरास बनाएको छ भने दिक्क मान्दै गएका एमाले कार्यकर्ता पुनः छक्क परेका छन् ।
उनलाई सहज पर्दा कुनै कार्यकर्ताको फेसबुक स्टाटस नै आधिकारिक धारणा जस्तो देखिने उनको शैली र असहज भए विज्ञप्ति निकालेरै धारणा राख्ने गौतमको राजनीतिले एमाले झनै दलदलमा फँस्न सक्ने अनुमान गर्न सकिन्छ ।