भक्तपुर । नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठनगरे सँगै माधवकुमार नेपाल समूहका नेता-कार्यकर्तामा चरम निराशा देखिएको छ । एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो र एकपाखे प्रवृत्तिका विरुद्धमा संरक्षण गर्ने नेताको खोजीमा माधवकुमार नेपालको साथमा पुगेका कार्यकर्ताले आफुलाई सम्हाल्नै सकस बन्दै गइरहेको पाइएको छ ।
पछिल्लो जानकारी अनुसार नेकपा एमाले समानान्तर कमिटीमा भक्तपुर जिल्ला अध्यक्ष रहेका रजन केसीले माधव नेपाललाई साथ नदिने भएका छन् । जिल्लामा अध्यक्ष केपी शर्माओली र नेता नेपालबीचको अन्तरविरोधको समयमा बनाइएको समानान्तर कमिटीको अध्यक्षमा रजन केसी र सचिवमा श्यामसुन्दर बस्नेत रहेका थिए ।
नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि अध्यक्ष केसीले नेपाल पक्षलाई साथ नदिने निर्णय गरेका हुन् ।
सो कमिटीका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । केसीका अनुसार – ‘विभाजनको पक्षमा म छैन, अन्तरसंघर्षको तहसम्म हो ।’ १० बुँदे सहमति भइसकेको र हिजोभन्दा आज पार्टीभित्र अन्तरसंर्घष गर्न सहज भएकोले अहिले विभाजनमा जानेप्रति आफनो असहमति रहेको केसीको भनाई छ ।
उनका सचिव रहेका श्यामसुन्दर बस्नेतले सोमबार पार्टीको जिल्ला कमिटी बैठक बस्ने र त्यसपछि कमिटीले पूर्णता पाउने जानकारी दिए ।
पार्टी आन्तरिक संघर्ष चलिरहँदा माधवकुमार नेपाल समूहमा रहेका एमालेका प्रमुख पदाधिकारीहरु १० बुँदे समझदारी गरेर पुर्व जिम्मेवारीमा क्रियाशिल भईसकेका छन् । संरक्षण गर्ने नेताको खोजिमा माधव नेपाल सँग गइएको थियो तर पार्टी नै विभाजन गरेर जाने नेताको पछाडी लागिँदैन । अर्का युवा नेताको भनाई छ ।
केही दिन अगाडी ओली समूहका विभिन्न जिल्लाका अध्यक्ष र युवानेताहरु बालकोट पुगेर तत्कालिन सचिवालय र सल्लाहकार नफेर्दाको परिणाम आज आएको ओलीलाई सुझाएर निस्किए पछि ओली निरास बनेका बुझिएको छ । "तपाइँहरुले समेत मलाई भेट्न नपाउनुभएको हो ?" ओलीले सहभागीलाई प्रश्न गरेका थिए ।
अहिले अध्यक्ष ओलीमा पनि इमान्दार कार्यकर्ता पाखामा परेका र विचौलिया हावी भएका महशुस भएको बुझिएको छ ।