प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको सनाखत

प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको सनाखत

२०७८, भाद्र २३ बुधवार

  • 697
    SHARES

  • प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको सनाखत

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ ।

    निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो ।

    प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४(दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिलाई सनाखतको व्यवस्था गरेको हो ।

    तोकिएको समयावधिभित्र ती दुवै नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत गर्ने कार्य भएको सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । जनप्रतिनिधिबाट सनाखत भएको विवरणसहितको प्रमाणित प्रतिवेदन सबै जिल्लाबाट आएपछि आयोगको बैठकबाट त्यस सम्बन्धमा निर्णय हुने उनले बताए । 

    पछिल्लो समय बर्सातका कारण कतिपय सडक अवरुद्ध भएकाले जिल्ला जिल्लाबाट प्रतिवेदन आउन पाँच/छ दिनसम्म लाग्न सक्ने आयोगले अनुमान गरेको छ । 

    २०७८, भाद्र २३ बुधवार०७:२८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार