राष्ट्रियसभामा एमालेको अवरोध कायमै

राष्ट्रियसभामा एमालेको अवरोध कायमै

२०७८, भाद्र २८ सोमवार

  • 965
    SHARES

  • राष्ट्रियसभामा एमालेको अवरोध कायमै

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोध कायमै रहेको छ ।

    बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

    सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए ।

    उनले दलको निर्देशन नमान्ने १४ सांसदलाई कारवाहीको सिफारिस गरे पनि सभामुखले लामो समयसम्म कार्यान्वयनमा नलगी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाए । 

    उक्त विषयमा प्रतिनिधिसभाका सभामुखले कुनै किसिमको गल्ती महसुस नगरेको तथा अझैसम्म पनि चित्तबुझ्दो जवाफ नदिएकाले जवाफ नआएसम्मका लागि सदनका काम कारवाही अगाडि नबडाइयोस् भन्दै सांसद श्रेष्ठले सभाअध्यक्ष तिमल्सिनालाई आग्रह गरे । 

    अध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभासँग सम्बन्धित विषय भए पनि बैठकमा कुरा उठ्नु स्वभाविक भएको र यो विषय समयसँगै निरुपण हुने बताए । एमालेका सांसदलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत उनीहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले भने कार्यसूचीलाई अगाडि बढाएका थिए ।

    बैठकमा अवरोधकैबीच विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङकोतर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगन गरिएको छ ।

    २०७८, भाद्र २८ सोमवार०२:४१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार