काठमाडौं । बलियो टोली विरुद्ध ब्याटिङ-बलिङ दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आइतबार ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर फिल्डिंग रोजेको नेपालले करण केसी र सन्दीप लामिछानेको ४/४ विकेट मद्दतमा ओमानलाई ३७.१ ओभरमा १ सय २१ मा अल आउट गरेको थियो ।
दोस्रो इनिङमा १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित अर्धशतक जोडे ।
वान् डाउनमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका कप्तान ज्ञानेन्द्रले आरिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे । त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे ।
ओमानका लागि नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए । घातक बलिङ गरेको नेपालसामु ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप र करणले ४/४ तथा शरदले २ विकेट लिएका थिए ।
शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यसपछि लगातार दुई खेलमा पराजय बेहोरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपालको यो शृंखलामा अन्तिम खेल हो ।
आजको खेलसँगै नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पदबाट डेभ वाटमोर विदा भएका छन् । गत चैतमा नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका वाटमोरले पारिवारिका कारण देखाउँदै नेपाल बसाई लम्ब्याउन नसक्ने बताएका छन् ।