अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

२०७८, आश्विन ४ सोमवार

  • 681
    SHARES

  • अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

    काबुल । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् ।

    शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् ।   

    शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन् । 

    मन्त्रालयले आइतबारदेखि लागु हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ ।

    सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    साथै सूचनामा उनीहरुलाई कुनै निर्देशन समेत नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ ।

    शिक्षिकाहरुले आफुहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन् ।

    राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफुलाई विद्यालयले नबोलाएको बताइन् ।     

    विद्यालय फर्किने बारेमा आफुहरुलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्यौल सृजना भएको छ, उनले भनीन् । 

    उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताइन् ।   

    उहाँको जस्तै अरु धेरै शिक्षिकाहरुको समस्या र गुनासो पनि उस्तै रहेको समाचारमा जनाइएको छ । 

    संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् । 

    सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ । 

    त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । 

    सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो । -एजेन्सी । 

    २०७८, आश्विन ४ सोमवार०१:२१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार