काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा बृहत कार्यकर्ता भेला हुने भएको छ ।
असोज ७ गते दिनको १ बजे काठमाडौको राष्ट्रिय सभागृहमा हुने भेलामा पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगाएत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको निवर्तमान पेशागत विशेष जिल्ला कमिटी अध्यक्ष प्रेम प्रसाद पराजुलीले बताए ।
यससँगै एमालेले विशेष कमिटीलाई थप मजबुत बनाएर पार्टी काम गर्ने संकेत दिएको छ ।
यस अघिको पार्टी केन्द्रीय निर्देशन एवं विधान मस्यौदामा विशेष कमिटी हटाएको एमालेले पुरानै कमिटीहरुलाई निरन्तरता दिने निर्णय गरेको हो ।
विशेष प्रदेश कमिटी अन्तर्गत ४ वटा जिल्ला कमिटीहरु पेशागत, मजदुर, युवा विद्यार्थी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी रहेका छन् ।
विशेष प्रदेश कमिटीको अध्यक्षमा सुजिता शाक्य रहेकी छन् भने पेशागत र विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्जमा माधव ढुंगेल एवं मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ रहेकी छन् ।