काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित देखिएको छ ।
एमालेको विधानमै ओलीलाई अनुकूल हुने गरी व्यवस्था राखिएको छ । एमालेले एउटा कार्यकारी पदमा दुईपटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेरहद दुवै व्यवस्था कायम राख्ने भएको छ । तर, कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्याख्या गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
महाधिवेशनमा प्रतिनिधिहरूले दुईपटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठाएका थिए ।
तर, त्यसको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुवै व्यवस्था कायम रहने बताए । एमाले अध्यक्ष ओलीको उमेर आगामी फागुनमा ७० वर्ष पूरा हुँदै छ ।
तर, आगामी मंसिरमा महाधिवेशन गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको भित्री चाहनाअनुसार एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले ओलीलाई पुनः अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँचवर्षे कार्यकाल पूरा गर्न पाउने बाटो खुलेको छ । एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोकिएको थियो ।
त्यही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाउँदा ७० वर्षे उमेरहद हटाइएको थियो ।
गत फागुन २३ को सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुने गरी उमेरहद परिभाषित गरिएको हो ।