हेटौंडा । मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन् ।
करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
स्थानीय व्यवसायीका अनुसार बाँसबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताए । उनका अनुसार अब ती होटलहरु पुनःसञ्चालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ । किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ ।
नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलले सरोवर भरिएपछि हुन सक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए ।
‘२०७२ को भूकम्पपछि पहिलोपटक यस्तो अवस्था आयो’, श्रेष्ठले भने– ‘भर्खर पूर्णरूपमा सञ्चालनमा आउने तयारीमा रहेको सामूहिक रिसोर्टका बारहरु भत्केका छन् भने फलामे ट्रस्टबाट निर्मित अन्य होटलमा पनि भौतिक क्षति भएको छ ।’
ती होटलहरुले गाउँपालिका कार्यालयमा दर्ता भएर कर तिर्दै आएका थिए । उक्त क्षेत्रमा २४ वटा होटल र १० वटा खाजाघर सञ्चालनमा छन् । कुलेखानीको जलाशय भरिएर टनाटन भएको छ ।
जलविद्युत् आयोजनाको जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ । आइतबारदेखि पानीको सतह बढेर आएको छालका कारण पानी स्पिल भएको छ ।