मन्त्री हमालबारे अध्यक्ष प्रचण्डले भने : उनी काँग्रेस कोटाबाट मन्त्री भएका हुन्, हो-हल्ला गर्नु आवश्यक छैन

मन्त्री हमालबारे अध्यक्ष प्रचण्डले भने : उनी काँग्रेस कोटाबाट मन्त्री भएका हुन्, हो-हल्ला गर्नु आवश्यक छैन

२०७८, आश्विन २३ शनिवार

  • 781
    SHARES

  • मन्त्री हमालबारे अध्यक्ष प्रचण्डले भने : उनी काँग्रेस कोटाबाट मन्त्री भएका हुन्, हो-हल्ला गर्नु आवश्यक छैन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमाल नेपाली काँग्रेसका नेता रहेका कारण मन्त्री भएको दाबी गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसबाट हमाल मन्त्री बनेकोबारे सोधिएको प्रश्नमा दाहालले हमाल नेपाली काँग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले अनावश्यक चर्चा गर्नु नपर्ने बताएका हुन्।

    ‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ काँग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन,’ भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै दाहालले भने, ‘संसद् विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’

    उनले नेकपा एमालेले अनावश्यक रुपमा संसद् अवरुद्ध गरिरहेको आरोप पनि लगाए। ‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद् विघटनलाई जायज पुष्टि गर्ने प्रयास गरिँदै छ तर त्यो सम्भव छैन,’ उनले भने, ‘संसद् चाहिँदैन भने छोडेर गए हुन्छ, हामी छँदैछौं।’

    उनले एमसिसी अहिलेकै अवस्थामा नभई दलीय सहमतिमा परिमार्जनसहित पारित हुने बताए। साथै, कोभिड-१९ विरुद्धको खोप व्यवस्था गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको प्रचण्डले बताए।

    जनतालाई राहत, विकास निर्माण, शिक्षामा सुधार, थाती रहेका विधेयक अघि बढाउने लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए। प्रचण्डले शिक्षा सम्बन्धी उच्च स्तरीय आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने पनि बताए।

    २०७८, आश्विन २३ शनिवार१२:५३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार