लालबन्दी नगर वाङ्मय परिषदद्वारा शुभकामना आदानप्रदान, चियापान तथा कृति समीक्षा कार्यक्रम सम्पन्न

लालबन्दी नगर वाङ्मय परिषदद्वारा शुभकामना आदानप्रदान, चियापान तथा कृति समीक्षा कार्यक्रम सम्पन्न

२०७८, आश्विन २६ मंगलवार

  • 3.0K
    SHARES

  • लालबन्दी नगर वाङ्मय परिषदद्वारा शुभकामना आदानप्रदान, चियापान तथा कृति समीक्षा कार्यक्रम सम्पन्न

    लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व –२०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । 

    लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा बुद्धिजीवी बलराम पोखरेल, विशिष्ट अतिथि शिक्षाविद् विप्रहरि दहाल, लालबन्दी नगरपालिका वडा नं. –७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका निवर्तमान उपाध्यक्ष आभूषण चौलागाईँ, नेपाल शिक्षक सङ्घ लालबन्दी नगर अध्यक्ष भीमबहादुर जर्गा मगर, नारायण बहुमुखी क्याम्पस ईश्वरपुरका क्याम्पस प्रमुख हिरण्यप्रसाद बराल, नेपाल शिक्षक महासङ्घ लालबन्दी नगर अध्यक्ष केदारप्रसाद घिमिरे, सेवा निवृत्त शिक्षक राजन तिमल्सिना रहेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि तथा बौद्धिक व्यक्तित्व बलराम पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको समृद्धिमा सर्लाहीका प्रतिनिधि गजलकार नामक कृतिले अत्यन्त महत्वपूर्ण काम गरेको विचार राखे । नगरको सर्वाङ्गीण विकासका लागि एक बौद्धिक मञ्चको आवश्यकता रहेको कुरा पनि उनले थपे ।

    त्यस्तै उक्त कार्यक्रममा सर्लाहीका ५२ जना गजलकारका गजलहरू सङ्गहित ‘सर्लाहीका प्रतिनिधि गजलकार’, खण्डकाव्यकार कुमार दाहाल कुसुम कृत ‘मनुमञ्जरी’ खण्डकाव्य तथा निपातीकार उत्तम दाहाल कृत ‘निपाती त’ कृतिको पनि समीक्षा गरिएको थियो ।

    बलराम पोखरेल र विप्रहरि दाहालले ‘सर्लाहीका प्रतिनिधि गजलकार’ कृतिको समीक्षा गरेका थिए भने हिरण्यप्रसाद बरालले ‘निपाती त’ र केदारप्रसाद घिमिरेले ‘मनुमञ्जरी’ खण्डकाव्यको समीक्षा गरेका थिए । 

    लालबन्दी नगरपालिका अब साहित्यको क्षेत्रमा निकै अगाडि बढिसकेको तर यसमा स्थानीय सरकारले निकै काम गर्नुपर्ने धारणा लालबन्दी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि सुरेन्द्रकुमार न्यौपानेले राखे । एक सन्दर्भमा “पत्थर मात्र बेचिएको होइन थाहा नपाइकन नेपाली आफैँ बेचिएको कुरा” पनि थपे ।

    समीक्षक तथा कार्यक्रमका विशिष्ट अतिथि विप्रहरि दहालले सर्लाहीका प्रतिनिधि गजलकार कृतिको समीक्षा गर्ने क्रममा सर्लाही गजलको उर्वर भूमि रहेको र सर्लाहीका ५२ जना गजलकारलाई समेटेर यस कृतिको सम्पादन गर्नु अत्यन्त सराहनीय तर धेरै कठिन कार्य भएको बताए ।

    जनज्योति बहुमुखी क्याम्पसका निवर्तमान उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि आभूषण चौलागाईँले नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्दै आएका साहित्यिक गतिविधिको झल्को दिने गरी हाम्रा स्थानीय तहमा पनि यसरी देख्न पाउनु बडो खुसीको कुरा रहेको र यसलाई स्थानीय सरकारहरूले अझ मजबुत बनाउन लाग्नुपर्ने धारणा राखे ।

    कार्यक्रममा गजलकार तथा कविहरू कृष्ण दाहाल, कवि सुवेदी कञ्जुस, निर्मल बराल, सुमित्रा आचार्य, गिरिराज राना, नवराज पौडेल, लक्ष्मी पोखरेल, प्रमिला पोखरेल, गोविन्द काफ्ले ओखरबोटेले गजल वाचन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कवि तथा गजलकार कृष्ण दाहालले अब आफ्नो भाषा, संस्कृति, रीतिरिवाज र साहित्य जोगाउन स्थानीय सरकारहरू दत्तचित्त भएर नलाग्ने हो भने नेपालीको पहिचान नै नामेट हुने अवस्था आइसकेको बेला लालबन्दी नगरपालिका यो कुरामा अत्यन्त सचेत भएको पाउँदा खुसी भएको तर कार्यहरू पर्याप्त नभएको कुरा राखे ।

    समीक्षक तथा नारायण बहुमुखी क्याम्पस ईश्वरपुरका क्याम्पस प्रमुख हिरण्यप्रसाद बरालले निपाती त कृतिको समीक्षा गर्ने क्रममा निपाती त मौलिक कृति रहेको र यस्ता कृति जन्मनु निश्चय पनि लालबन्दी मात्र नभई सर्लाहीको पनि गर्वको विषय रहेको बताए ।

    समीक्षक तथा कार्यक्रमका अतिथि केदारप्रसाद घिमिरेले ‘मनुमञ्जरी’ खण्डकाव्यले समाज, देश र समग्र मानवकै विषयमा वकालत गरेको बताए । 

    कार्यक्रममा मेची–महाकाली बुहारी समाजकी सर्लाही जिल्ला अध्यक्ष रमा दाहाल तथा सचिव अम्बिका राउतको पनि उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य परिषद्का सचिव तथा कवि सुमन घिमिरे अग्रिमले गरेका थिए भने कार्यक्रमको सहजीकरण परिषद्का कोषाध्यक्ष तथा गजलकार विवश पौडेलले गरेका थिए।

    लालबन्दी नगरपालिकाको प्रेक्षालयमा सम्पन्‍न उक्त कार्यक्रममा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    २०७८, आश्विन २६ मंगलवार०१:३७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार