उपाधिको दाबेदार मानिएको दिल्ली इण्डियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । वुधवार राति सम्पन्न दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेपछि यो संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो क्वालिफायरमा चेन्नाईसँग पराजित भएको दिल्लीले दोस्रो अवसर पनि गुमायो । कोलकाताले इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको हो ।
कोरोना महामारीका कारण ६ महिनाअघि सुरु भएको आईपीएल बीचमा रोकिएको थियो । यही महिनादेखि पुनः सुरु गरिएको हो ।
गएराति दिल्लीले टस हारेर ब्याटिङ गरी १३५ रनको योगफल खडा गरेको थियो । यो संस्करणमा सन्तुलित प्रदर्शनका लागि चिनिएको दिल्लीले प्लेअफका दुई महत्वपूर्ण खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
जवाफमा कोलकाताले १ बल अगाडि लक्ष्य पूरा गरेको हो । सुरुवात राम्रो भए पनि कोलकाताको मध्यपंक्ति ध्वस्त भएको थियो । २ बलमा ६ रन चाहिएको अवस्थामा राहुल त्रिपाठीले छक्का प्रहार गरी १ बल अगावै खेल जिताएका हुन् ।
फाइनल खेल शनिवार हुनेछ । -एजेन्सी ।