काठमाडौं । पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकार शून्यमा झरेको छ ।
तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ ।
प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।
गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो । अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।
पार्टी विभाजन भएसँगै प्रदेश–१ मा पनि एमालेले बहुमत गुमाएको थियो । प्रदेश–१ मा एकीकृत समाजवादीका राजेन्द्र राईको नेतृत्वमा सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । एक साताअघि मात्र वागमतीमा मुख्यमन्त्री शाक्यले बहुमत गुमाएपछि राजीनामा दिएका थिए । वागमतीमा अहिले समाजवादीकै राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् ।
गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् भने लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री छन् । कर्णाली र सुदूरपश्चिममा शुरुदेखि नै माओवादीका महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् ।