समायोजनले सुध्रिएका विद्यालय: कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

समायोजनले सुध्रिएका विद्यालय: कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

२०७८, कार्तिक १८ बिहिवार

  • 1.3K
    SHARES

  • समायोजनले सुध्रिएका विद्यालय: कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

    तुलसीपुर । दाङ घोराहीको हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जनामात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि प्रभावकारी नभएपछि हरिद्वार प्राविलाई घोराही नजिकैको चौघेरा माविको जिम्मा लगाइयो ।

    यो विद्यालय समायोजन हुने भन्ने हल्ला थियो । यसो गर्दा विद्यालयको सबै संरचना शून्य हुन्थ्यो । तर यहाँ फरक नीति लिइयो । घोराही उपमहानगरपालिकाले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन अघि बढायो । 

    चौघेराको हरिद्वार प्राविलाई यही नीतिमा समेटियो । व्यवस्थापनसहित सबै जिम्मा चौघेरा माविलाई दिइयो । थोरै विद्यार्थी हुने विद्यालयमा सङ्ख्या ह्वात्तै बढेको छ । कुनै बेला विद्यालयमा १२ विद्यार्थी हुनेमा अहिले ३०० भन्दा बढी रहेको प्रधानाध्यापक श्याम मल्लले बताए । “समायोजन भनेर विद्यालय गाभ्ने भन्दा जुन विद्यालयमा कम विद्यार्थी छन्, त्यसलाई नजिकै राम्रो ढङ्गले सञ्चालन भएकालाई व्यवस्थापन जिम्मा  दिएको  थियो ।

    सोहीअनुसार हाम्रो नजिकै रहेको हरिद्वार विद्यालयलाई हामीले हेर्नुपर्ने भयो”, उनले भने, “हाम्रो जिम्मेवारीमा त्यो विद्यालय आउँदा त्यहाँ १२ जनामात्रै पढ्थे । अहिले त्यही ठउँमा तीन सय अध्ययन गरिरहेका छन् ।” हरिद्वार र चौघेराको दूरी करिब ढेड किलोमिटर मात्रै छ ।

    यसैगरी कक्षा ५ सम्म पढाइ हुने विद्यालय कक्षा ३ सम्म पढाउने बनाइयो । पाँच जना स्थायी शिक्षक रहेकामा तीन जनाको दरबन्दी अरु ठाउँमा गरियो । व्यवस्थापन अर्कोलाई दिएपछि यस वर्षबाट कक्षा ८ सम्म सञ्चालन गर्ने भएको  छ । शिक्षक दरबन्दी पनि पाँच जनाकै कायम  गरियो । विद्यालय  गाभ्नेभन्दा पनि नजिकैको राम्रोले सञ्चालन जिम्मा लिँदा प्रभावकारी हुँदोरहेछ ।

    विद्यालय राम्रोसित सञ्चालनमा आउन थालेपछि छुट्टै विद्यालयकै रुपमा सञ्चालन गरिने नीति पनि लिएको प्रअ मल्लले बताए । “हामीले विद्यालय गाभ्नेभन्दा पनि राम्रो बनाएर पुनः आफ्नै अस्तित्वमा राख्ने योजना लिएका छौं”, उनले भने, “समुदायमा जहिल्यै विद्यालय चाहिन्छ, त्यसैले हामीले दुईरतीन वर्ष सञ्चालन गरेर पुनः त्यही समुदायलाई हस्तान्तरण गर्छौं ।”

    घोराही उपमहानगरपालिका-१८ को आधारभूत विद्यालय मसिनाको इतिहास पनि उस्तै उस्तै छ । कुनै समय २० जना मात्रै विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयमा पनि व्यवस्थापन फेरिएसँगै सबै राम्रो भएको छ । विद्यालय प्राङ्गण गाईबस्तु चरणस्थल बन्थ्यो । जे भए पनि अभिभावकले चासो दिने होइन । कक्षा १ देखि ५ सम्म सञ्चालित सो विद्यालय जब रझेना माविमा समायोजित भयो, अनि मुहार फेरियो । 

    त्यही विद्यालय हो, त्यहाँ जम्मा २० जना पढ्न आउँथे । अहिले यही नर्सरी, एलकेजी, युकेजी कक्षा सञ्चालित छ । निजी विद्यालयको ‘मोडेल’ मा त्यो विद्यालय सञ्चालन गरिएसँगै ६० जना विद्यार्थी भए । रझेनाका प्रअ उद्धव न्यौपानेले भने, “विद्यालय हाम्रो जिम्मेवारीमा आएपछि निजी विद्यालयको मोडेलमा सञ्चालन गर्‍यौं, अनि विद्यार्थी पनि बढे ।” यहाँ पनि पहिला पाँच स्थायी शिक्षक थिए । अहिले भने तीन स्थायी शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । 

    दाङ घोराहीका यी दुई विद्यालय त उदाहरण मात्रै हुन्, समायोजित विद्यालय ६ वटा छन् । यी सबै विद्यालय अहिले भने साँच्चिकै विद्यार्थी पढ्ने ठाउँजस्तो भएको छ । विद्यार्थी सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलका अनुसार विद्यालय सशक्त बनाउन व्यवस्थापन नै मजबुत हुनुपर्छ ।

    यसको ज्वलन्त उदाहरण यस नगरका ६ वटा विद्यालयलाई हेर्दा थाहा पाइन्छ । आगामी दिनमा पनि व्यवस्थापनलाई मजबुत विद्यालयको जिम्मा दिने र शिक्षामा सुधार गर्ने योजना छ । समायोजन भएको एक वर्षमा ती विद्यालय आशासित सुधार भएको उनको बुझाइ छ । 

    उपमहानगर शिक्षा शाखा प्रमुख विनोद गौतमले सोही नीतिअनुसार घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको जानकारी दिए । 

    विसं २०७७ असारमा ती विद्यालयलाई समायोजन गरिएको थियो । एक वर्षभित्रै व्यवस्थापन अति राम्रो भएको छ । एक किलोमिटर दूरीका, पैदल आधा घण्टा वरपर भएका तर विद्यार्थी नभएका विद्यालयलाई नजिकैको व्यवस्थित विद्यालयको जिम्मा लगाएको गौतमले बताए । देशभर गरिएको विद्यालयको समायोजनभन्दा घोराहीको नीति प्रभावकारी देखियो”, उनले भने, “यसले राज्यको दायित्व पनि कम हुँदोरहेछ ।”

    समायोजन गर्दा विद्यालय प्रशासन मजबुत भएकाले नै सुधार आएको शिक्षा प्रमुख गौतमको बुझाइ छ । समायोजन गर्दा विद्यार्थी टाढाको विद्यालय जानुपर्ने भएकाले पनि सोही विद्यालयमै पढ्न पाउने हुँदा प्रभावकारी हुने उनको भनाइ छ । विद्यालय समायोजन गरेर नजिकैको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । 

    “सबैभन्दा ठूलो कुरा विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने खालको बनाउने हो”, उनले भने, “त्यसपछि विद्यार्थी बढ्छन्, हामीले समायोजन गर्नेभन्दा पनि विश्वासको वातावरण तयार पार्ने योजना बनायौं र अघि बढ्यौं । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्ने र अभिभावकले अपनत्व लिने हुँदा नीति ठीक छ भन्ने लागेको छ ।”

    नजिकैको दूरीका विद्यालय पनि कतै विद्यार्थीको सङ्ख्या अत्यधिक हुने र कतै शून्य हुने अवस्था रहेको भन्दै समायोजन गरेपछि धेरै विद्यार्थी भएकाबाट पनि कम विद्यालयका विद्यार्थी ल्याउन सकिने उहाँको भनाइ छ । जसमा उपमहानगरपालिकाले समन्वयको भूमिकामात्रै खेलेको भन्दै समायोजन भएका विद्यालयमा छुट्टै लगानी भने उपमहानगरपालिकाले नगरेको प्रमुख चौधरीले जानकारी दिए । “समायोजन गरेका विद्यालयलाई भनेर छुट्टै लगानी गरेका छैनौं”, उनले भने, “हामीले नीति बनाएका छौं, त्यही नीतिलाई टेकेर मर्ज हुने र खर्चको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्छ ।”

    प्रशासन राम्रो भए, विद्यालय सुध्रिन्छ
    सुनसान विद्यालयमा अहिले भरिभराउ विद्यार्थी हुनुको एउटै कारण, ‘प्रशासन सुधार’ विद्यालयको प्रभावकारी व्यवस्थापन भए अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने प्रअहरुको अनुभव छ । “हामीले गाभिएका विद्यालयलाई अरु केही गरेको होइन, व्यवस्थापनमात्रै सुधार गरेका हौँ”, रझेनाका प्रअ न्यौपानेले भने, “हाम्रो जिम्मामा आएपछि शिक्षकलाई समयमै विद्यालय आउने, नियमित पढाउने, विद्यार्थीलाई पनि अनुशासित गराउने काम गर्‍यौं । यसकै नतिजा हो, विद्यालय सुधार भएको ।”

    आफूहरुले पहिले आधारभूत विद्यालय मसिनाका शिक्षकलाई समेत रझेना ल्याएको उनले बताए । अहिले ती शिक्षक नै उत्साहित भएको न्यौपानेको अनुभव छ । “हामीले मसिनाबाट ल्याएर रझेना अध्यापन गराउन लगाएका शिक्षक पनि निकै उत्साहित हुनुभएको छ”, उनले भने, “अहिले त अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइरहनुभएको छ, नियमित गृहकार्य दिनुहुन्छ, अनि सबै राम्रो भयो ।”

    नगरको अर्को पेचिलो नीति हो, शिक्षक, व्यवस्थापन समितिका सदस्यले अनिवार्य आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउनुपर्ने । आफू सामुदायिक विद्यालय पढाउने, छोराछोरी बोर्डिङ पठाउने । यो गलत मनोदशा तोड्न रझेना माविले भूमिका खेलेको छ । उक्त विद्यालयका सबै शिक्षक तथा व्यवस्थापन समितिले अनिवार्य सामुदायिक विद्यालयमै बाबुनानी पढाउनुपर्छ । सोहीअनुसार कार्यान्वयन भयो । यसले सबै विद्यार्थीलाई आफ्ना सन्तान सरह ठान्ने बनाएको प्रअ न्यौपानेको अनुभव छ । 

    विद्यालय शिक्षालाई प्रभावकारी बनाउन व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ भने नियमक निकायको अनुगमन पनि प्रभावकारी भए सामुदायिक विद्यालय सुधार हुने प्रअहरुको अनुभव छ । जुन विद्यालयमा शिक्षक मात्र होइन, व्यवस्थापन समिति पनि क्रियाशील हुन्छ, त्यो विद्यालय पक्कै पनि राम्रो हुन्छ । त्यहाँका विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ ।

    २०७८, कार्तिक १८ बिहिवार०५:०६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार