काठमाडौँ । नेकपा (एमाले) ले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र सङ्गठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले हिजो (आइतबार) जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय सङ्गठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ ।
यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसङ्गठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।
कार्तिक २७ गते महाधिवेशन छनोट गर्ने मिति तय गरेसँगै एमालेले अधिवेशन हुन बाँकीरहेका वडा/ शाखा र पालिका/इलाकालाई २५ गतेभित्र सम्पन्न गर्न समेत निर्देशन दिएको छ ।