पार्टी विधानबमोजिम अन्तिम पटक फेरि सभापति बन्न चाहन्छु : प्रधानमन्त्री देउवा

पार्टी विधानबमोजिम अन्तिम पटक फेरि सभापति बन्न चाहन्छु : प्रधानमन्त्री देउवा

२०७८, मंसिर २१ मंगलवार

  • 889
    SHARES

  • पार्टी विधानबमोजिम अन्तिम पटक फेरि सभापति बन्न चाहन्छु : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा नेपाली काँग्रेसको सभापतिमा उम्मेदवार दिने बताएका छन् ।

    महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन्।

    सभापतिको उम्मेदवार बन्ने आन्तरिक तयारीमा रहे पनि उनले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन्। उनले भने, ‘पार्टी विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु। यो अन्तिम पटक हो, अर्को पटक विधानले पनि दिँदैन । तपाईँहरूले सहयोग गर्दै आउनुभएको छ, फेरि एक पटक सहयोग गरिदिनुपर्‍यो।’

    प्रधानमन्त्रीसमेत रहेका देउवाले आफू फेरि पार्टी सभापति हुँदा अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै अहिलेकै सरकारले तीनै तहको निर्वाचन गर्न सहज हुने बताए।

    आगामी निर्वाचनबाट पार्टीलाई जिताउने र सबैलाई समेटेर अघि बढ्न पनि आफू नै सभापति हुनुपर्ने देउवाको भनाइ थियो। उनले भने, ‘यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै अहिले प्रधानमन्त्री भएको हुँ । फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु,तपाईँहरूमार्फत पनि सबैलाई आग्रह गर्न चाहन्छु, एक पटक मलाई सहयोग गरिदिनुस्।’

    २०७२ सालमा भएको काँग्रेस १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औंबाट पनि नेतृत्वमा निरन्तर चाहेका छन्।

    २०७८, मंसिर २१ मंगलवार०७:२८:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार