आज कांग्रेस संस्थापनइतरले सभापतिको साझा उमेदवार तोक्दै

आज कांग्रेस संस्थापनइतरले सभापतिको साझा उमेदवार तोक्दै

२०७८, मंसिर २२ बुधवार

  • 1.1K
    SHARES

  • आज कांग्रेस संस्थापनइतरले सभापतिको साझा उमेदवार तोक्दै

    काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज १४औँ महाधिवेशनका लागि सभापति पदको साझा उमेदवार तय गर्ने भएको छ । त्यसका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संस्थापनइतरका शीर्ष नेताहरूको बैठक आज बिहान ११ बजे बस्दै छ । महाधिवेशन यही मंसिर २४-२६ गतेसम्म काठमाडौंमा हुँदैछ । 

    मंगलबार नेता प्रकाशमान सिंहको निवासमा छलफल भएको थियो । उक्त छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (आज) बेलुकासम्म साझा उमेदवार तोक्ने बताएका थिए ।

    “सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्‍यौँ,” उनले भने, “महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौँ । केही प्रक्रिया पूरा गरेर भोलि (आज) टुंगो लगाउँछौँ ।”

    बैठकमा नेता पौडेलले आउँदो चुनावसम्म मात्रै पार्टी चलाउन दिन आग्रह गरेका थिए । त्यसपछि आफू कार्यवाहक दिन तयार भएको तथा अहिले नै सहमति गर्न पनि तयार रहेको बताएका थिए ।

    “चुनावसम्म पार्टी चलाउन दिनुस् । त्यस बेलासम्म कांग्रेसप्रतिको धारणामा सुधार गरौँ । पार्टीमा भएको अन्याय अन्त्य गरौँ । त्यसपछि पार्टी चलाउन तयार हुनुस् । आजै तयार हुनुस् । यो विषयमा अहिले नै सहमति गरौँ,” पौडेलको प्रस्ताव थियो ।

    पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए । छलफलपछि सभापतिका आकांक्षी तथा महामन्त्री डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताए ।

    “रामचन्द्र पौडेलले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएँ,” कोइरालाले भने, “अरूका नाममा सहमति भयो भने पनि उहाँले छाड्न तयार हुनुपर्छ ।”

    संस्थापनइतरबाट सभापतिका बाँकी दुई आकांक्षी नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालाले भने आ आफ्नो दाबी छाडिसकेका छैनन् । 

    मंगलवार अबेर सम्म भएको शिर्ष नेताको बैठक चलिरहँदा बाहिर कार्यकर्ताले प्रदर्शन समेत गरेका थिए । जसले गर्दा शिर्ष नेतृत्वलाई दबाब बढेको बुझिएको छ । 

    संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् ।

    २०७८, मंसिर २२ बुधवार०७:३३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार