कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, दुवै समूहमा उम्मेदवारको ओइरो 

कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, दुवै समूहमा उम्मेदवारको ओइरो 

२०७८, मंसिर २५ शनिवार

  • 865
    SHARES

  • कांग्रेस महाधिवेशनः आज मनोनयन दर्ता, दुवै समूहमा उम्मेदवारको ओइरो 

    काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ । तर, अझैसम्म कांग्रेसका देखिएका दुई समूहबीच उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

    उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

    त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ बजेसम्म फिर्ता गरेपछि दिउँसो सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

    कांग्रेस विधानअनुसार १ सभापति , २ उपसभापति , २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्यीय कार्यसमितिका लागि आज मनोनयन दर्ता हुन लागेको हो । मतदान सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

    संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा कृष्ण सिटौला समूहका नेता प्रदिप पौडेलले उम्मेदवारी दिने सहमति भएको बताइएको छ । तर, उक्त समूहका महामन्त्रीका दाबेदारहरु युवा नेता विश्वप्रकाश शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँड लगाएतले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । त्यस्तै उपसभापति र सहमहामन्त्रीसँगै सदस्यहरुका लागि उम्मेदवार टुंग्याउन उक्त समूहले छलफल गरिरहेको छ ।

    संस्थापनइतर समूहमा सभापतिकै उम्मेदवार टुंग्याउन सकस भइरहेको छ । साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म अनुपम फुड ल्याण्ड बानेश्वरमा बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठकमा पनि सहमति जुट्न सकेन । बैठक चल्दै गर्दा नेता शेखर कोइराला बैठक छाडेर बाहिरिएका थिए । 

    खासगरी कोइराला र नेता प्रकाशमानसिंहले अडान नछाडेपछि समहमतिमा सकस परेको बताइएको छ । उक्त समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आकांक्षा गरेका छन् । शशांकले सहमति हुने अवस्थामा आफू बाधक नबन्ने बताइसकेका छन् ।

    त्यस्तै पौडेलले पनि सहमति भएको अवस्थामा आफू बाधक नबन्ने बताएका छन् । सिंह र कोइराला आफुलाई कार्यकर्ताको अत्यधिक माग रहेकाले मैदान नछोड्ने बताईरहेका छन् । नेता कोईराला १ वर्ष अगावै महाधिवेशनको तयारी गर्ने मध्येमा पर्दछन् ।

    सरल स्वभावका प्रष्टबक्ता कोईराला कार्यकर्ताको अधिक रोजाईका नेता रहेका जानकार बताउँछन् । नेता कोईरालालाई उमेद्वार बनाएमा पहिलो चरणमा नै हालका सभापति देउवालाई पराजित गर्नेमा ढुक्क रहेको पुर्व विद्यार्थी नेताले नाम नछाप्ने सर्तमा सुनाए ।  

    त्यस्तै, नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् ।

    २०७८, मंसिर २५ शनिवार०८:०८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार