काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसभित्र सामूहिक नेतृत्वका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले आज साँझ पत्रकार सम्मेलन गरी पार्टीभित्र सामूहिक नेतृत्वका लागि आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारेका हुन् ।
“पार्टीभित्र भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुदृढ र जिम्मेवार बनाउन तथा गतिशील एवम् ऊर्जाशील काँग्रेस निर्माणका लागि उम्मेदवारी प्रस्तुत गरेका हौँ,” कोइरालाले भने । उनले पार्टीलाई जवाफदेही र पारदर्शी बनाउनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
पार्टीभित्रको गुट, उपगुट र भागबन्डामा नलाग्न कार्यकर्तालाई कोइरालाले आग्रहसमेत गरे ।
“पार्टी जनताप्रति उत्तरदायी हुनुप-यो, सरकार र गठबन्धनलाई अझै मजबुद बनाउनतर्फ हाम्रो नेतृत्व लाग्नेछ, विगतको इतिहासलाई सम्झेर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने । पार्टीभित्रका अनुभवी नेताको अनुभवलाई लिएर अगाडि बढ्ने कोइरालाको भनाइ थियो ।
उपसभापतिका उम्मेदवार डा चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार गगनकुमार थापालगायतले सोमबार हुने निर्वाचनमा काँग्रेसलाई विजयी गराउनका लागि सबैलाई समेट्ने र काँग्रेस निर्माण गर्ने बताएका थिए ।