ललितानिवास प्रकरण: अधिकांश जग्गा तीन जनाका नाममा

ललितानिवास प्रकरण: अधिकांश जग्गा तीन जनाका नाममा

२०७८, पौष १८ आइतवार

  • 1.1K
    SHARES

  • ललितानिवास प्रकरण: अधिकांश जग्गा तीन जनाका नाममा

    काठमाडौँ । बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ ।

    ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको सीआईबीका उच्च अधिकारीले बताए ।

    त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ । शोभाकान्त ढकालले अन्य व्यक्तिसँगको नाममा समेत जग्गा राखेको हुन सक्ने शङ्का ब्युरोले गरेको छ । ब्युरोको बयानमा सुवेदी दम्पती र ढकालले ललितानिवासको जग्गा विभिन्न मोहीसँग किनेको दाबी गरेका छन् ।

    सीआईबीका अनुसार ललितानिवासको सरकारी जग्गाको ठूलो हिस्सा कैलाश गोयल, श्रवण गोयल र शिवरतन शारडाको नाममा पनि पाइएको छ । मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका कैलाशको नाममा रहेको ‘डीएफएल डेभलपर’ कम्पनीको नाममा ललितानिवासको १६ रोपनी जग्गा रहेको खुलेको छ ।

    ललितानिवासको सरकारी जग्गामध्ये सुवेदी–ढकाल, गुरुङ र गोलयको नाममा मात्र ७५ रोपनीभन्दा बढी जग्गा रहेको खुलेपछि ब्युरोले उनीहरूमाथि थप निगरानी बढाएको छ । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १४३ रोपनी जग्गा किर्ते गरेको खुलेको छ । सरकारी जग्गा किर्ते गरी बिचौलियाले जग्गाको कित्ताकाट गरी बाटोसमेत विस्तार गरेका थिए । बाटोले चर्चेको जग्गाबाहेक १२६ रोपनी जग्गा हिनामिना भएको खुलेको छ ।

    २०७८, पौष १८ आइतवार०८:११:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार