रूपन्देही । बिहीबार रातिदेखि दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आगलागी भएपछि घरभित्रै परेका ५ जनाको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा भएको आगलागी भएको हो । आगो र धुँवाको राप तथा तापले समयमा उद्दार हुन नसक्दा उनीहरुको मृत्यु भएको हो ।
बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो देखेपछि बल्ल आगलागीबारे सूचना प्राप्त भएको थियो । घरधनी काठमाडौंमा बस्दै आएका छन् ।
‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागीमा परी पाँचजना घरभित्रै फसेको प्रहरीले बताएको छ । ती मध्ये प्रहरीले अहिले दुई जनाको शव निकालेको घटनास्थलमै रहेका नेपाल पत्रकार महासघका कोषाध्यक्ष शरद रेग्मीले जानकारी दिए ।
अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ ।