काठमाडौँ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट सञ्चालन हुने भएका छन् ।
कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गते (आज)देखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।
त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।