पासाङ ल्हामु राजमार्ग: उल्टो चक्रमा विकासको गति

पासाङ ल्हामु राजमार्ग: उल्टो चक्रमा विकासको गति

२०७८, फाल्गुण ४ बुधवार

  • 1.5K
    SHARES

  • पासाङ ल्हामु राजमार्ग: उल्टो चक्रमा विकासको गति

    काठमाडौँ । पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । 

    सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन । बरु सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको पासाङल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–छहरे–विदुर सडकखण्ड विस्तारमा विकासको उल्टो गति पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    सो सडकखण्डमा पचास प्रतिशत पुगेको भौतिक प्रगति अहिले चालीस प्रतिशतमा झरेको छ । बालाजु–त्रिशूली–छहरे विदुर सडक विस्तार योजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार लामो समयसम्म काम नहुँदा यसअघि तयार भएका संरचना पनि भत्किँदै बिग्रिँदै जाँदा भौतिक प्रगति घटेको हो ।

    सो सडक विस्तारका लागि दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।

    उनका अनुसार यस वर्षको असारदेखि यस सडकमा निर्माण कम्पनी देखिएका छैनन् । अहिले ‘सिङ्गल लेन’ रहेको सो सडकखण्डलाई ‘डबल लेन’ मा विस्तार गर्न ठेक्का सम्झौता भएको हो । सो सडकखण्ड विस्तारका लागि सातौँ पटक म्याद थप गरिए पनि निर्माण कार्य आधा पनि सम्पन्न हुनसकेको छैन ।

    पछिल्लो पटक यसै वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरेको हो । उनले भने, “यसअघि निर्माण कम्पनीले बनाएका पर्खाल, नाली र कालोपत्रेसमेत भत्किइसकेका छन् । निर्माण गरिएका संरचनासमेत गुणस्तरहीन भएकाले वर्षदिन नबित्दै भत्केका हुन्, जसका कारण यस सडक योजनाको भौतिक प्रगति दिनका दिन उल्टो गतिमा बढिरहेको छ ।’’

    आयोजना प्रमुख श्रेष्ठले पटक–पटक म्याद थप गरिए पनि निर्माण व्यवसायीले अझै पनि काम सुरु गर्न नसकेको बताए । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले कम्पनीलाई जरिवाना गरिसकेको छ । कम्पनीलाई अहिलेसम्म तीन करोड ६५ लाख रुपियाँ जरिवानासमेत गरिएको छ । उनले निर्माण कम्पनीसँग सम्झौता तोड्न योजनाले आवश्यक तयारी सुरु गरिसकेको र छिट्टै प्रक्रिया अगाडि बढाइने जानकारी दिए । 

    नुवाकोटका प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको निकम्मापनका कारण यो सडकखण्डको विस्तार कार्य सम्पन्न हुन नसकेको बताए । निर्माण कम्पनीले राजनीतिक पहुँचको आडमा कसैलाई नटेरेको र काम नगरे पनि उसमाथि कारबाही हुनुको सट्टा विभिन्न बहानामा पटकपटक म्याद थप्दै गएको उनले बताए । 

    २०७८, फाल्गुण ४ बुधवार०८:२२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार