युक्रेन - रुस युद्ध

अपरिपक्व कूटनीतिले निम्त्याएको मानवीय त्रासदी

अपरिपक्व कूटनीतिले निम्त्याएको मानवीय त्रासदी

२०७८, फाल्गुण २७ शुक्रवार

  • 10.8K
    SHARES

  • अपरिपक्व कूटनीतिले निम्त्याएको मानवीय त्रासदी

    युक्रेनको  परिचय:

    “युक्रेन” अर्थात् बोलीचालीमा “उक्राइन” (Ukraine) को कुल क्षेत्रफल ६०३,६२८ बर्ग किलोमीटर रहेको छ, जसमध्धे २७८२ किलोमीटर लामो समुद्री किनार पनि रहेको छ । क्षेत्रफलको आधारमा हेर्दा यो रुस पछिको सबैभन्दा ठूलो युरोपियन राष्ट्र हो । युक्रेनको पश्चिम तर्फ एकमात्र केर्पाथीयन (Carpathan)  पर्बत शृंखला रहेको छ । यस पर्बत शृंखलाको सबभन्दा अग्लो हिमाल “होवेर्ला” (Hoverla) को उँचाई ६७६२ फीट रहेको छ । यसको अधिकांश भू-भाग समथर उब्जाउ भूमि र समथर उच्च-समस्थली युक्त भू-भागले  ढाकेको छ । द’नेइपर (Dnieper), सेवेर्स्की डोनेट्स (Seversky Donets), द’निस्तर (Dniester) र साउदेर्न बग ( Southern Bug ) यहाँका प्रमुख नदीहरु हुन् । यी मध्धे द’ नेइपर (Dnieper) युरोपकै चौथो सबैभन्दा लामो नदी हो । यो नदी रुस, बेलारुस र युक्रेन हुँदै अन्य नदीहरु जस्तै उत्तरबाट दक्षिण तर्फ बग्दै अन्तत: कृष्ण सागर (Black Sea) मा गएर मिल्दछ ।   

    उक्राइन (Ukrine) शब्दलाई प्राचीन अर्थमा “बुढो वा पुरानो रसिया” अथवा “परदेश” भन्ने अर्थ लगाउने गरिएतापनि हालका अध्ययनहरुमा यसलाई “मातृभूमी”, “देश” वा “क्षेत्र” भन्ने अर्थमा व्यक्त गर्ने लहर चलेको छ । बर्तमान युक्रेनमा मध्ययुग (Medieval Age) मा रुस भाइकिंग (Rus Viking) नामका जनजातिहरु बस्ने गर्दथे जो त्यहाँबाट युरोप र मध्यपूर्वमा दासहरुको ब्यापार गर्दथे । दासहरु नै पछी गएर स्लाव (Slav) भनिए भने Rus शब्दबाट Russia शब्द बन्यो । युक्रेनी क्षेत्रमा मानिसहरुको बसोबासको प्राचीन ईतिहास ईसापूर्वको ३२,००० बर्ष पुरानो मानिन्छ भने आधुनिक ईतिहास चाहिं नवौं शताब्दीमा “किभियन रुस” नामको बिशाल शक्तिशाली राज्यको उदयबाट शुरु भएको मानिन्छ । मध्ययुगीन समयमा यो क्षेत्र पश्चिमी स्लाव संस्कृतिको केन्द्र थियो ।

    समयक्रममा द’निपर नदीको किनारमा एक सभ्यताले जन्म लियो जसको केन्द्रबिन्दु “किभ” (Kiev) नामको शहर बन्नगयो । यही किभियन रुस नै मध्य युगमा शक्तिको एक प्रमुख केन्द्र पनि थियो र यहीँबाट रुसी साम्राज्यको बिस्तार हुँदै गएर बिशाल साम्राज्य खडा भयो । उक्त बिशाल साम्राज्यमा थुप्रै जाति-जनजातिहरु निवास गर्दथे जो मूलत: स्लाव भनिन्थे । आजभन्दा १००० बर्ष पूर्व अर्थात् ईसाको १२औँ शताब्दी देखि नै युक्रेन मूलरुपमा रुसी कला संस्कृती र जीवन शैलीको एक प्रमुख अंग रहँदै आएको थियो । तर १२औं शताब्दीमा भएको युद्ध पश्चात त्यो बिशाल साम्राज्य क्षेत्रीय शक्तिहरुको रुपमा विभाजित हुन पुग्यो ।

    सोह्रौं देखि अठाह्रौं शताब्दी सम्म आई पुग्दा सम्म रुसी साम्राज्यका स्लावहरुमा भाषिक रुपमा केही अन्तर देखा पर्यो । युक्रेनका स्लावहरु उक्राईनी भाषा र अन्यत्र बस्ने स्लावहरु भने रुसी भाषा बोल्ने गर्दथे । १९ औं शताब्दीमा यसको ठूलो हिस्सा रुसी साम्राज्य र बाँकी भाग अष्ट्रो –हंगेरियन नियन्त्रणमा गयो । त्यो समय सम्म पनि युक्रेनको अवस्था अष्ट्रो –हंगेरियन र रुसी साम्राज्य्यको मध्य रहेको ग्रामिण क्षेत्रको जस्तो थियो । यी साम्राज्यहरुको  बढ्दो सहरीकरण संगै युक्रेन पनि त्यस तर्फ अग्रसर भयो ।

    प्राकृतिक साधनहरुले भरिपूर्ण युक्रेन सामरिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएको मात्रै नभई युक्रेनको राजधानी “किभ” (Kyiv) लाई रुसी संस्कृतिको जननी पनि भन्ने गरिन्छ । यसैले युक्रेनी स्लावहरु आफुलाई अन्य स्लावहरु भन्दा भिन्न र परिष्कृत मान्दथे । यही भिन्न सोचले गर्दा सोभियत रुस को गठन हुँदा सन् १९२१ ताका सम्म पनि युक्रेनलाई एक अलग महत्वपूर्ण “सोभियत सामाजिक गणतन्त्र” (Soviat Socialist Republic – SSR) मान्ने गरिन्थ्यो । सन् १९२२ मा यही युक्रेनियाई एस.एस.आर. सोभियत संघको संथापक सदस्य र  सन् १९४५ संयुक्त राष्ट्र संघको सह-संस्थापक सदस्य बन्यो । सोभियत संघको बिघटन भएपछि सन् १९९१ मा यो पुन: एक स्वतन्त्र राष्ट्र बन्यो ।

    सन् १९९१ मा सोभियत रुसको बिघटन पश्चात युक्रेन एक अलग स्वतन्त्र राष्ट्र बन्न गयो । भाषिक रुपमा युक्रेनी भाषा र रुसी भाषा एकै प्रकारको भए पनि रुसी सीमा नजिकको दक्षिणी तथा पूर्वी भागमा रुसी मातृभाषा बोल्नेहरुको बाहुल्य रहेको छ । मध्य र पश्चिमी युक्रेन क्षेत्रमा बस्ने मानिसहरु भने आफुलाई एक अलग “युक्रेनी राष्ट्रियता” को परिचय सहितको रुपमा स्थापित गर्न चाहन्छन् । आजभोली यिनीहरु अंग्रेजी भाषा बोल्ने तर्फ नै बढी आकर्षित देखिन्छन् । युक्रेनमा करीब ७७.७ प्रतिशत उक्राईनी र १७.३ प्रतिशत रुसी भाषा बोल्ने मानिसहरु रहेका छन् ।

    सोभियत संघको बिघटनले गर्दा रुस र युक्रेन दुई भिन्न देश बन्न पुगेता पनि परापूर्व काल देखि नै यी दुई मुलुकहरु रहन-सहन, खानपान आपसी अन्तर-सम्बन्ध र संस्कृतिक दृष्टिले एकै रहँदै आएका छन् । रुसीहरुले पनि बेलारुस र युक्रेनलाई रुसी सभ्यताकै अभिन्न अंगहरु हुन् भन्ने मान्यताका साथ यिनले ओगटेको भू-भागलाई प्राकृतिक रुपमै संबेदनशील क्षेत्र अर्थात् Buffer State हो भन्ने मान्यता राख्दै आएका छन् । तर अधिकांश युक्रेनीहरु भने बिगत पाँच-सातसय बर्षमा युक्रेनले आफ्नो छुट्टै राष्ट्रियता बिकसित गरिसकेकोले युक्रेन र रुस एक अर्काको अभिन्न अंग हुँदै होइन भन्ने जिकीर गर्दछन् ।

    युक्रेनको सिमाना पूर्व र उत्तर-पूर्व दिशामा रुस संग जोडिएको छ । उत्तरतर्फ यसको सीमाना बेलारुस सँग र पश्चिम तर्फ पोल्याण्ड, स्लोभाकिया र हंगेरी सँग जोडिएको छ । दक्षिण तर्फ भने यसको सीमाना रोमानिया र मोल्दोवा संग जोडिएको छ । युक्रेनको राजधानी किभ (Kyiv) नै सबैभन्दा ठूलो शहर पनि हो । करिब ४ करोड ३० लाख जनसंख्या सहितको यो देश जनसांख्यिक दृष्टिले युरोपकै आठौँ स्थानमा पर्दछ । प्रशासनिक रुपमा यहाँ २४ वटा प्राथमिक क्षेत्र “Oblast” हरु रहेका छन् । विकासोन्मुख राष्ट्रको रुपमा रहेको युक्रेनलाई युरोपकै गरिब राष्ट्र भन्ने गरिन्छ ।

    ukrane.jpg

    मानब बिकास सूचकांक (HDI Index) को ७४ औं स्थानमा रहेको यो देशमा फलाम, कोईला, निकेल, मेंगनीज, प्राकृतिक ग्याँस, तेल, नून, गन्धक, ग्रेफाईट, टिटानियम, कावोलिन, मर्करी जस्ता खनिज पदार्थको प्रचुरता रहेको छ । यति मात्रै होईन बरु काठ र पर्याप्त उब्जाउ भूमिको भण्डार रहेको यो देशमा पर्याप्त मात्रामा गहुँको उत्पादन हुने र सम्पूर्ण युरोपमा निर्यात हुने भएकोले यसलाई युरोपको खाध्य भण्डार (Bread Basket of Europe) पनि भनिन्छ । साहसिक पर्यटन यहाँको प्रमुख ब्यबसाय हो । केही समय अघि सम्म पनि विश्वका बिभिन्न भागबाट आउने पर्यटक सङ्ख्याको आधारमा पनि युक्रेन विश्वको आठौँ स्थानमा नै पर्ने गर्दथ्यो ।

    सन् २०१४ मा क्रिमियामा भएको रुसी आक्रमण अघि सम्म पनि पर्यटन गतिबिधि नै युक्रेनको उक्त क्षेत्रको प्रमुख आर्थिक आधार हुने गर्दथ्यो । युक्रेन निम्न-मध्यम-आय (Lower-middle Income) भएको अर्थ-व्यवस्था हो । युक्रेन मौद्रिक कुल गार्हस्थ्य आय (Nominal GDP) का दृष्टिले विश्वको ५५औं स्थानमा पर्दछ । यहाँको प्रतिव्यक्ति आय १४,१४६ (IMF 2021) रहेको छ । सन् २०२१ मा यहाँको प्रति महिना औषत मौद्रिक ज्याला ५२५ अमेरिकी डलर, गरीबीको रेखामुनिको जनसंख्या १.१ प्रतिशत (2019), बेरोजगारी ४.५ प्रतिशत र कुल मौद्रिक गार्हस्थ्य आयको ५२ प्रतिशत सरकारी ऋणको मात्रा रहेको छ ।

    युक्रेनले सबै प्रकारका सवारी साधनहरु र हवाईजहाज समेतको उत्पादन गर्ने गर्दछ/ यहाँ उत्पादन गरिने अनातोव (Anatov) हवाईजहाज र KrAZ ट्रकहरु युरोपका धेरै देशहरुमा निर्यात हुने गर्दछ । स्वतन्त्रता पश्चात् यसले आफ्नै अन्तरिक्ष एजेन्सी (State Space Agency of Ukraine-SSAU) पनि स्थापना गरेको छ । सन् १९९१ देखि २००७ सम्ममा यसले ६ वटा स्वदेश निर्मित सेटेलाईटहरुको प्रक्षेपण गरिसकेको छ भने १०१ वटा अन्तरिक्ष यानहरुको निर्माण पनि गरी सकेको छ ।

    यति हुँदा हुँदै पनि राजनैतिक अस्थिरता र ब्यापक भ्रष्टाचारले यो मुलुक आक्रान्त भएकोले युक्रेनलाई युरोपकै गरिब राष्ट्र भन्ने गरिन्छ । युक्रेनका कतिपय क्षेत्रमा पिउने पानीको अपर्याप्तता, वातावरणीय प्रदूषण, तीब्र बनबिनाश, जलवायु विकिरणको ब्यापक प्रभाव आदि यहाँका प्रमुख समस्याको रुपमा रहेको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा रहेको चेर्नोविल आणविक भट्टीमा सन् १९८६ मा भएको दुर्घटनाका कारण सिर्जित जलवायु विकिरणको ब्यापक प्रभाव अहिले पनि त्यहाँ देख्न सकिन्छ ।

    भ्लादिमिर पुटिन

    सोभियत संघको बिखण्डनको दौरानमा सोभियत सत्ताले अघि बढाएको “ग्लास्तनोस्त” र “पेरेस्त्रोइका” जस्ता सुधारबादी कार्यक्रमको असफलता संगै सोभियत सत्ताको पतन भयो । अमेरिका समर्थित बोरिस येल्त्ससिन जस्ता अस्थिर व्यक्ति ठूलो हल्लीखल्ली सहित रुसको राष्ट्रपति भए । जर्जिया र चेचेन्यामा कडा आन्तरिक संघर्ष र बिद्रोहहरु भए । रुसी भूमी गृहयुद्धको चपेटामा फंस्यो । आन्तरिक कलहकै बिचमा सन् १९९० मा रुसी गुप्तचर संस्था KGB बाट अवकाश प्राप्त अधिकारी व्लादिमिर वल्दिमिरोविच पुटिन सन् १९९२ मा सेन्ट पिटर्सबर्गको उप-मेयर चुनिए । सन् १९९८ मा उनी मस्को आए पछी बोरिस येल्त्सिनले उनलाई रुसी आन्तरिक गुप्तचर संस्थाको निर्देशक पदमा बहाल गरे । तर पुटिनको ख्याती भने चेचेन्याली पृथकताबादीहरुको आक्रमणबाट रुसलाई जोगाउन उनले खेलेको भूमिका बाटै चुलिएको हो ।

    vladimir_putin.jpeg

    डिसेम्बर ३१, सन् १९९९ मा अचानक तत्कालिन रास्ट्रपति बोरिस येलत्सिनले राजिनामा गरी पुटिनलाई कार्यकारी राष्ट्रपति घोषित गरिदिए । सन् २००० को मार्च महिनामा भएको निर्वाचनबाट उनी ५३ प्रतिशत मत ल्याई राष्ट्रपति चुनिए । तत्पश्चात् अक्टोबर ७, १९५२ मा जन्मिएका पुटिन हाल सम्म कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री फेरी राष्ट्रपति बन्दै निरन्तर रुसी सत्तामा रहँदै आएका छन् । प्रारम्भमा अमेरिकी समर्थक देखिएका पुटिन पछिका दिनहरुमा रुसलाई मजबुत राष्ट्र बनाउनमै केन्द्रित भएपछी भने अमेरिकी खेमाका लागि टाउको दुखाईका बिषय बन्दै आएका छन् ।

    वोल्दोमिरोभिच जेलेंस्की

    युक्रेनका बर्तमान राष्ट्रपति ४४ बर्षिय वोलोदिमिर जेलेंस्कीको जन्म उक्रेनी यहुदी परिवारमा १९७८ जनवरी २५ मा भएको थियो । उनी रुसी र उक्राइनी भाषा बोल्ने परिवार भित्र पर्दछन् । यिनका हजुरबुबा कुनै बेला “रेड आर्मी” का सैनिक थिए भने पिता कीभ अन्तराष्ट्रिय बिज्ञान-प्रबिधि बिश्वबिद्यालयका प्राध्यापक र आमा ईन्जिनियर थिइन् । कामको सिलसिलामा मातापिता मंगोलियामा  रहँदा  जन्मिएकाले उनको प्रारम्भिक बाल्यकाको ४ बर्ष मंगोलियामा बित्यो । कीभ नेशनल ईकोनोमिक बिश्वबिद्यालयबाट कानून बिषयमा स्नातक बनेका यिनी युक्रेनी टेलीभिजनका चर्चित कलाकार हुन् । यिनी १७ बर्षको उमेरमै उक्राइनी कला क्षेत्रको प्रसिद्ध “केभियन” समूहमा सामेल भए र यिनको कलाकारितामा निखार आयो ।

    जेलेन्सकीको समूह “Kvartal -95” ले देखाउने व्यंग्यात्मक कमेडी शो “जनताका नोकर” (Servent of the People) मा उनी सरकारी भ्रष्टाचारको बिरोध गर्ने एक त्यस्तो शिक्षकको प्रमुख भूमिकमा थिए जो पछी गएर मुलुकको राष्ट्रपति बन्दछ । उनको त्यो भूमिका अन्तत: उनकै जीवनमा सार्थक हुन पुग्यो । भ्रष्टाचार र अब्यबस्थाले आक्रान्त युक्रेनमा उनको प्रस्तुतीले निकै प्रसिद्धी पायो । उनले पछी गएर ठूलो पर्दाका फिल्महरुको निर्माण समेत गरे । ठूलो पर्दाको चलचित्र “Love in the Big City” मा पनि यिनको भूमिकाले प्रशंशा प्राप्त गर्यो र उक्त फिल्मका थप सिक्वेल समेत निर्माण गरिए । उनका अन्य चलचित्रहरु पनि चर्चित रहे । उनको कम्पनीले कार्टून फिल्महरुको निर्माण पनि गर्ने गर्दथ्यो ।

    jelenski-1.jpg

    सन् २०१४ फेब्रुअरी २७ मा रुसले क्राईमियामा आक्रमण गरेपछी रुसी बिस्तारबादको बिरोध गर्दै उनको समूह टेलिभिजनको पर्दामा देखा पर्यो र प्रसिद्धी कमायो । प्रारम्भमा राजनीतिमा प्रवेश गर्ने उद्देश्य नभएका उनले अन्तत: त्यही टेलिभिजन शृंखलाकै नाममा पार्टी गठन गरी सन् २०१९ को निर्वाचनमा होमिए । अमेरिकी रणनीतिको पक्षपोषण नगर्ने भिक्टर यानुकोभिचलाई अमेरिका प्रायोजित जन-विद्रोहका कारण सत्ताच्युत गराइए पछी पेट्रो पोरोशेन्को राष्ट्रपति पदमा थिए तर युक्रेनको अब्यबस्था र अशान्तिमा कमी आएन । यसै परिवेशमा युक्रेनलाई युरोपीय संघमा लैजानु पर्छ भन्ने मान्यताका पक्षपाती, राजनीतिमा कुनै पूर्व अनुभव नभएका उनी सन् १९९१ को निर्वाचनबाट ७२.३ प्रतिशत मत ल्याएर युक्रेनका राष्ट्रपति बनेका थिए ।

    सन् २००३ मा समाजसेवीको छबि बनाएकी स्क्रिप्ट लेखिका समेत रहेकी आर्किटेक्ट ईन्जिनियर ओलेना कियाश्को संग यिनको बिबाह भयो । जेलेन्सकी दम्पतीका १८ बर्षिया एक छोरी र ९ बर्षिय एक छोरा रहेका छन् । बर्तमान समयमा अमेरिकाले आफुलाई शरण दिने प्रस्ताव गरेको र जे परे पनि युक्रेनकै भूमिका लागि लड्ने प्रतिबद्धता जनाएको, युक्रेनी जनतालाई समेत रुसी आक्रमणको बिरुद्ध लड्नका लागि हतियार उपलब्ध गराउने जस्ता भावनात्मक र उतेजनाकारी समाचारहरु संचार माध्यममा प्रसारण गरेर होस् वा सैनिक पोशाकमा हतियार सहितको तस्विरहरु प्रसारण गरेर होस् राष्ट्रबादी नेताको छबी बनाउनमा व्यस्त देखिन्छन् । 

    युक्रेन – रुस बिबादको जड र घटनाक्रम: 

    रुसबाट स्वतन्त्र भए संगै युक्रेनका बिभिन्न क्षेत्रहरुमा नाममा अमेरिकी सैनिकहरु र गुप्तचरहरुको उपस्थिति बढ्दै गयो । पश्चिमा मुलुकहरुले अनेकौं प्रलोभन र राजनैतिक प्रभाव र हत्कण्डाहरु उपयोग गर्दै सन् १९९१ यता देखि नै रुसलाई घेर्ने र शक्तिराष्ट्रको रुपमा पुन: उठ्न नदिने रणनीति अख्तियार गरेको तथ्य कसैबाट लुकेको छैन । यही रणनीति अन्तर्गत रुस संग छुट्टी भिन्न भएका सीमावर्ती बाल्टिक राष्ट्रहरु ईस्टोनिया, लात्भिया, लिथुआनिया योरोपीयन युनियनमा सामेल भईसकेको र पोल्याण्ड र रुमेनिया पनि केही समय अघि युरोपियन युनियनमा आबद्ध भएपछि रुसले आफुलाई असुरक्षित महसूस गर्नु परेको छ /अमेरिकी प्रभाव बढे सँगै स्वतन्त्रताको करीब ६ बर्ष पछि देखि अर्थात् सन् १९९७ देखि नै युक्रेनले NATO को सदस्यता लिने प्रयत्न गर्दै रह्यो र सन् २००२ देखि विधिवत नै प्रकृया अघि बढायो ।

    तर रुसले भने लगातार यसको बिरोध गरी नै रह्यो र आफ्नो गतिबिधि पनि बढाउंदै लग्यो । उता युक्रेन युरोपियन युनियन संग व्यापारिक सम्बन्ध बिस्तार गर्न चाहन्थ्यो तर उ रुस संगको व्यापारिक साझेदारी पनि गुमाउन चाहँदैनथ्यो । रुस भने युक्रेनले कुनै किसिमको पूर्व-व्यापारिक सम्झौता EU संग नभई आफूद्वारा प्रस्तावित स्वतन्त्र ब्यापार संघ “युरेसियन आर्थिक समुदाय” (Eurasian Economic Community – EAEC ) को हिस्सा बनोस् भन्ने चाहन्थ्यो । तर युक्रेनले भने त्यसबाट संधै पन्छिन चाह्यो । ठूलो जनसंख्या र उच्च कृषि एवं औद्योगिक उत्पादन रहेको युक्रेनलाई EAEC को अंगको रुपमा समाबेस गराउनु रुसको लागि निकै महत्वपूर्ण पनि थियो ।

    सन् २००२ मा युक्रेनले NATO मा आबद्ध हुनका लागि औपचारिक प्रस्ताव अघि बढाए देखि नै युक्रेन र रुस बिचको सम्बन्धमा तनावको अवस्था बढ्दै गएको देखिन्छ । युक्रेन जस्तो ठूलो र महत्वपूर्ण राष्ट्र युरोपियन युनियन र NATO को मार्गचित्रमा अग्रसर भएपछी रुसको समस्या बढ्दै गएको हो / बिगत १५ बर्षमा युरोपियन युनियन सम्बद्ध राष्ट्रहरुले रुस माथिको दबाब बढाउंदै लगेका छन् । बेलारुस र युक्रेनलाई रुसले आफ्नो अभिन्न अंगको रुपमा मान्दै आएको छ । युक्रेनमा प्राकृतिक ग्याँसको ठूलो भण्डार रहेको छ । उक्त श्रोतको उत्खनन गरी कब्जा गर्ने उद्देश्यमा रुसी र एंग्लो अमेरिकन कम्पनीहरु बिच संधै प्रतिस्पर्धा हुने गरेको छ । बिगत देखिनै युक्रेन रुसको ठूलो व्यापारिक साझेदार (१४.२ प्रतिशत आयात ) रहँदै आएको छ ।

    रुस युरोपको लागि प्रमुख तेल निर्यातक राष्ट्र हो र युरेनियम लगायतका खनिज पदार्थ पनि रुसबाटै निर्यात हुने गर्दछ । रुसले सम्पूर्ण युरोपको कुलमाँगको ४० प्रतिशत प्राकृतिक ग्याँस र ३० प्रतिशत पेट्रोलियम पदार्थको परिपूर्ति गर्ने गर्दछ । जर्मनी, स्वेडन, पोल्याण्ड, ईटाली आदि राष्ट्रहरु प्रमुख उपभोक्ता राष्ट्रहरु हुन् । यो प्रयोजनका लागि रुस र बेलारुसबाट बिछ्याईएका पाईप लाईनहरुको सन्जाल युक्रेन भएरै जाने गर्दछ । यसैकारण रुसी पाईप लाईनहरुमा क्षति पुग्न गए रुसलाई खरबौं डलरको क्षति हुने र अर्थतन्त्रमा भयंकर नकारात्मक प्रभाव पर्नसक्ने हुनाले रुसका लागि युक्रेनको अवस्थिति रणनीतिक रुपमै निकै महत्वपूर्ण रहेको छ ।

    अमेरिका र युरोपियन युनियनका राष्ट्रहरु रुसलाई आर्थिक रुपमा शक्तिशाली हुन नदिन चारैतिरबाट घेर्न चाहन्छन् भन्ने कुरा सन् २०११ मा रुसले नोर्डिक मुलुकहरु (फिनल्याण्ड, स्वेडन, नर्वे आदि - NORDIC) को क्षेत्रबाट युरोपमा तेलको पाईप लाईन बिछ्याउन अघि सारेको परियोजना प्रस्तावमा युरोपीय राष्ट्रहरुले असहमति जनाउनुले नै प्रष्टहुन्छ । योरोपीय मुलुकको प्रभाव बढ्दै जाँदा एकातिर इस्टोनिया र फिनल्याण्डको मध्यबाट रुस प्रवेश गर्ने बाल्टिक सागरको क्षेत्र अर्थात् “फिनल्याण्डको खाडी” दोश्रो विश्वयुद्ध अघि देखि नै रुसको सुरक्षा चासोको प्रमुख बिषय रहँदै आएको छ भने अर्कोतर्फ युक्रेनमा समेत युरोपको प्रभाव बढ्नुले रुसको आर्थिक क्षेत्रलाई थप दबाबको सामना गर्नुपर्ने कुरा स्पष्ट छ ।

    भविष्यमा कुनै किसिमले युक्रेनको तर्फबाट नाटो (NATO) सम्बद्ध देशहरुले आक्रमण गर्यो भने रुसले आफ्नो दक्षिणी क्षेत्रमा पर्ने ठूलो खेतियोग्य भू-भाग गुमाउनु पर्ने हुन्छ । तर नाटो सम्बद्ध मुलुकहरुले भने युक्रेनी सरकारलाई आर्थिक एवं सामरिक सहयोग गर्दै त्यस क्षेत्रमा गुप्तचरी लगायतका बिभिन्न गतिविधिहरु बढाउंदै लागेका छन् । यसबाट कृष्ण सागर (Black Sea) क्षेत्रमा आफ्नो पकड समाप्त भई राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुनेकुरा रुसले महसुस गर्नु अनौठो पनि थिएन ।

    सन् १९९१ मा रुस संग छुट्टिंदा नै उक्रेन अन्तर्गतको क्राइमिया क्षेत्रको सेवास्तापोलमा रहेको आफ्नो जल सैनिक अखडा प्रयोग गर्न पाउने शर्त रहेको थियो । हिउँदमा रुसको उत्तरी क्षेत्रमा हिउँ जम्ने कारणले समस्त क्षेत्रमा कुनै गतिबिधि गर्न सकिन्न त्यसकारण कृष्ण सागर र भू-मध्य सागरमा पहुँच हुनु रुसको लागि सामरिक दृष्टिले निकै महत्वपूर्ण रहेको छ । तर पश्चिमा राष्ट्रहरुको उक्साहटमा लागेर सेवास्तापोलको जल सैनिक अखडा प्रयोग गर्न नदिने रणनीति तर्फ युक्रेन अग्रसर भयो । यसले रुस र युक्रेन बिच थप बिबाद शुरुभयो ।

    यसैबीच फेब्रुअरी २०१० को निर्वाचनबाट रुस समर्थित भिक्टर यानुकोविच राष्ट्रपति बने । उनीमाथि पनि युरोपियन संघमा युक्रेनलाई आबद्ध गराउने पश्चिमाहरुको दबाब कायमै रह्यो । यही योजना अन्तर्गत पोल्यान्डको पहलमा युरोपियन युनियनले युक्रेनको खस्कदों आर्थिक अवस्थालाई सुधार गर्न १५ अर्ब डलरको आर्थिक सहयोग प्याकेजको प्रस्ताव अघि सार्यो । त्यसै बिच रुसले पनि आर्थिक युक्रेनको जर्जर अर्थ-व्यवस्था सुधार गर्न बृहत् आर्थिक एवं ब्यापारिक सहयोगको प्रस्ताव अघि बढायो । युरोपियन युनियन प्रस्ताब अस्वीकार गर्दै नोभेम्बर २०१३ मा बसेको बैठक बाटै यानुकोभिच बाहिरिए । उनको सरकारले रुसी आर्थिक सहयोग प्रस्ताव स्विकार गर्यो ।

    उता अमेरिका समर्थित राष्ट्रहरुले युक्रेनीहरुलाई रुस बिरुध्द भड्काएर सरकार बिरोधी प्रदर्शनलाई अघि बढायो । यससंगै राजधानी कीभमा अमेरिकी प्रायोजनमा सरकार बिरोधी प्रदर्शन शुरु भयो । यानुकोभिचले दमनकारी शैली अपनाए धेरै मानिस हताहत भए । फलस्वरूप सरकार बिरोधी प्रदर्शन उग्र हुनपुग्यो । अन्तत: यानुकोभिच सरकार अपदस्थ भयो र उनले रुसमा शरण लिन बाध्य हुनु पर्यो । यसपछिको निर्वाचनमा अमेरिका समर्थित पेट्रो पोरोशेन्को राष्ट्रपति बने । सन् २०१४ मा रुसले क्रिमियामा आक्रमण गरी आफ्नो कब्जा जमायो ।

    युक्रेनमा व्याप्त भ्रष्टाचार र अब्यबस्थामा कमी आउन सकेन । ब्यापक अव्यवस्था भ्रष्टाचार र युद्धले जनजीवन अस्त-व्यस्त बन्यो । यसैको बिरोध गर्दै “Servent of the People” पार्टीका जेरेंस्की चुनावी मैदानमा आए । ब्यापक जन-समर्थनका साथ सन् २०१९ को निर्वाचनबाट उनी राष्ट्रपति पदमा स्थापित भए ।

    सन् २०१४ मा नै रुसले क्राइमिया आफ्नो कब्जामा लिएको थियो । तर रुस सीमाना संग जोडिएको लोहान्स्क र दोनेस्कमा भने रुसले प्रत्यक्ष कब्जा गरेन । यस अघि युद्ध भएमा युक्रेनलाई सहयोग गर्ने वचन दिए पनि रुसले क्राईमियामा आक्रमण गर्दा पश्चिमा राष्ट्रले त्यो वचन अनुसारको केही पनि सहयोग गर्ने परिस्थिति बनेन । उल्टै बरु रुसले सन् २०१४ को ६ मार्चका दिनमा त्यहाँ सेवास्तापोलको स्थानीय सरकारलाई उपयोग गरी जनमत संग्रह गराई क्राइमियाका करिब ९७ प्रतिशत जनताहरु रुसकै पक्षमा रहेको तथ्य स्थापित गरिदियो ।

    युरोपियन युनियनका राष्ट्रहरु मूकदर्शक मात्रै बन्नपुगे । कारवाही स्वरूप तिनले G–8 समूहबाट रुसलाई निष्काशन गरिदियो । उक्त निष्काशनलाई रुसले खासै महत्व दिएन बरु अजोभ सागर (Sea of Azov) बाट हुँदै क्राइमिया सम्म पुग्ने पुल तयार गर्ने अभियानमा रुस जुटेको छ ।

    सन् १९२२ मा सोभियत संघको निर्माण भएको थियो । सन् १९४५ अर्थात् दोश्रो विश्वयुद्धको समाप्ति संगैको करिब २० बर्षको छोटो अवधिमै कम्युनिष्टहरुको नेतृत्वमा योजनाबद्ध बिकासको चरण प्रारम्भ भए संगै यसलाई आर्थिक रुपमा चमत्कारिक उपलब्धिहरु हासिल भए । सोभियत संघ बिश्व मानचित्रमा एकाएक महा-शक्तिशाली राष्ट्रको रुपमा उभिन सफल पनि भयो । महाशक्ति राष्ट्र बन्ने होडबाजीमा सोवियत संघ समर्थित र अमेरिका एवं अमेरिका समर्थित मुलुकहरु बिच शक्ति संघर्ष चल्यो जसलाई शीतयुद्धकाल भनेर बुझ्ने गरिन्छ । अन्तत: सोभियत संघको सत्तामा कम्युनिष्टहरुको पकड कमजोर भए संगै यसको आर्थिक पक्ष कमजोर हुँदै गयो र सन् १९९१ सम्ममा सोवियत संघको बिघटन संघारमा पुग्यो ।

    फलस्वरूप सन् १९९० पश्चात् शुरु भएको सोभियत संघको बिखण्डन संगै १५ वटा स्वतन्त्र देशहरु - इस्टोनिया, लात्भिया, माल्दोवा, बेलारुस, जोर्जिया जस्तै युक्रेनको भूमि पनि रुसी महासंघबाट विघटित भई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आयो । बिखण्डनको प्रारम्भिक समयमा रुसको शासन सत्तामा निकै उथल-पुथल आयो । तत्पश्चात लगातार युक्रेनको भूमिमा पश्चिमा प्रभाव बढ्दै जाँदा आफुलाई सामरिक रुपले निकै असहज हुने अवस्था उत्पन्न भएपछि प्राकृतिक श्रोत साधनहरुले भरिपूर्ण युक्रेनको क्रिमिया क्षेत्रमा पृथकताबादी गतिविधिको बढ्दो प्रभावलाई आधार बनाई सन् २०१४ मा रुसले कब्जा गर्यो ।

    ukrane-modern.jpg

    बर्तमान विश्वमा दोश्रो बिश्वयुद्ध पश्चात नै शक्तिको आधारमा ध्रुबीकरण शुरु भएको हो । सन् १९४९ मा बेल्जियमको राजधानी ब्रसेल्समा दोश्रो विश्वयुद्धले आर्थिक रुपमा जर्जर भएका अमेरिकी खेमाका मुलुकहरुलाई सबल बनाउने उदेश्यले भएको सम्मेलनले अमेरिका समर्थित ३० वटा देशहरुको सैनिक संगठन “नाटो” (NATO) को गठन भएको थियो । यो पनि शक्तिको आडमा भएको ध्रुबीकरणकै एउटा पाटो हो । यी देशहरुले अमेरिकी ईशारामा लोकतन्त्रको स्थापना, मानव अधिकारको उल्लङ्घन, रासायनिक तथा जैविक हतियारको खतरा, परमाणु अश्त्रहरुको निशस्त्रीकरणको आबश्यकता, आतंकबादको समाप्तिको आवश्यकता जस्ता मुद्धाहरु उठाएर आफ्ना बिरोधी राष्ट्रहरुलाई आरोपित गर्दै युद्ध थोपर्दै आएका छन् । 

    समयक्रममा रुसी मूलका बासिन्दाहरुको बाहुल्यता रहेको ती क्षेत्रका पृथकताबादीहरुले आफ्नो सुरक्षाका लागि रुसलाई आह्वान गरे संगै रुसले त्यो क्षेत्रलाई लुहान्स्क (Luhansk) र डोनेत्स्क (Donetsk) गरी दुई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता प्रदान गर्यो । सेप्टेम्बर १९, सन् २०१४ मा बेलारुसको राजधानी मिन्स्कमा त्रिपक्षिय सम्झौता सम्पन्न भयो जसलाई Minsk Protocol भन्ने गरिन्छ ।

    यसमा मध्यस्थकर्ताको भूमिका Organisation for Security and Cooperation in Europe – OSEC का प्रतिनिधी तथा स्विस कुटनीतिज्ञ हेइदी ताग्ल्यियाविनीले निर्बाह गरेकी थिइन् भने युद्धरत पक्षहरुका तर्फबाट युक्रेनका पूर्व राष्ट्रपति लियोनेद कुच्मा, युक्रेनका तत्कालिन रुसी राजदूत मिखाईल जुराबोव, डोनेत्स्क जनगणतन्त्रका प्रधानमन्त्री तथा पृथकताबादी नेता अलेक्जेन्डर ज़खार्चेन्को तथा लुहान्स्क क्षेत्रका पृथकताबादी नेता इगोर प्लोतिनत्स्कीले हस्ताक्षर गरेका थिए । समझौतामा युक्रेनको डोनबास (Donbass) क्षेत्रका जिल्लाहरुमा स्थानीय निर्वाचनलाई सुनिश्चित गर्न युक्रेनी कानून अन्तर्गत सिमीत स्वायत्तता प्रदान गरिनेछ भनिएको छ । तर सम्झौताको त्यस प्राबधानले रुस संग सीमा जोडिएको युक्रेनको डोनबास (Donbass) क्षेत्रमा पृथकतावादी संघर्षलाई थप मद्दत पुग्न गयो ।

    युद्ध बिरामको घोषणा र सम्झौता पालना गर्ने भनिएता पनि सम्झौता पत्रको मसी पनि सुक्न नपाउँदै, एकले अर्कोलाई युद्धविराम भंग गरेको आरोप लगाउँदै, लगत्तै २८ सेप्टेम्बर २०१४ मा डोनेत्स्क अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गर्ने उद्देश्यले दुई पक्ष (रुस समर्थित डोनेत्स्क पृथकताबादी समूह एवं युक्रेनी सैनिक तथा स्वयंसेवक समूह) बिच दोश्रो युद्ध प्रारम्भ भयो । सन् २०१४ को मे महिनामा भएको पहिलो युद्धमा उक्त विमानस्थललाई युक्रेनको कब्जामा छाडिएको थियो । युद्धको प्रारम्भमा बिमानस्थलमा दुवै पक्षले उक्त विमानस्थलमा आ-आफ्नो कब्जा रहेको दाबी गरिरहेको थियो भने डोनेत्स्क शहरको एउटा पाटोमा युक्रेनी सरकारी सैनिकहरुको कब्जा रहेको थियो ।

    तर नयाँ बर्षको प्रारम्भ सँगै भीषण बन्दै गएको संघर्षमा १५ जनवरी २०१५ को दिनमा पृथकताबादी समूहले विजय प्राप्त गर्यो । उक्त युद्धमा अधिकांश युक्रेनी सैनिकहरु कोही मारिए, कोही भागे भने केही बन्दी समेत बनाइए । त्यस क्षेत्रको अस्थिरता कायमै रहे पछी १२ फेब्रुअरी, २०१५ मा अर्को थप सम्झौता भयो, जसलाई MINSK – II भनियो । जतिसुकै प्रयास गर्दा पनि सबै पक्षका आ-आफ्ना निहित स्वार्थले गर्दा न त त्यस क्षेत्रमा तनाव नै कम हुन सक्यो न त सम्झौताको पूर्ण पालना नै भयो ।

    डोनबास क्षेत्रमा शान्ति कायम गरी समस्या समाधान गर्न एकातिर रुसले युक्रेनलाई “मिन्स्क” सम्झौताको पालना गर्न दबाब दिन थाल्यो भने युक्रेनले पनि अमेरिकी आडमा आफ्नो देशलाई NATO को छत्रछायाँमा लैजाने धम्कि दिन थाल्यो । बर्तमान युद्धको अबस्थाले पनि युक्रेन पूर्णत: अमेरिकी र पश्चिमा मुलुकहरुको हतियार बन्न पुगेको कुरा प्रष्ट भई नै सकेको छ ।

    यसै बिच नयाँ बर्षको आगमन सँगै रुस र युक्रेन बिचको तनाव बढ्दै गयो र रुसले एकतर्फी रुपमा लुहान्स्क (Luhansk) र डोनेत्स्क (Donetsk) लाई स्वतन्त्र क्षेत्रको रुपमा आधिकारिकता प्रदान गर्दै २१ फेब्रुअरी, २०२२ मा  मिन्स्क सम्झौता कायम नरहेको र यसका लागि युक्रेनी पक्ष नै जिम्मेवार रहेको घोषणा गर्दै युक्रेनमा २२ फेबुअरी, २०२२ देखि आक्रमण गर्न शुरु गरेको छ । युक्रेन पक्षले अमेरिकी पक्ष र युरोपियन युनियनको आर्थिक र सामारिक सहयोगको उक्साहटमा लागेर जे जस्तो अवस्था सृजना गरेको छ त्यो पक्ष अब कसैबाट ओझेलमा परेको भने छैन । अहिले उक्त युद्धमा रुसको प्रत्यक्ष संलग्नताले बिश्व समुदायको ध्यान त्यसतर्फ आकर्षित भएको छ । पश्चिमा समाचार माध्यमहरुले मानवीय संवेदनालाई नै झक्झक्याउने गरी जसरी समाचार सम्प्रेषण गरिरहेको छ, त्यो यथार्थ भएपनि अतिशयोक्तिपूर्ण छ भन्ने कुरामा धेरैको ध्यान गएको पनि छ ।

    पश्चिमा भ्रमको मलजलमा हुर्किएको असफल कुटनीति:

    डोनेत्स्क पृथकताबादी र युक्रेनी सैनिक बिचको संघर्षमा जे-जसरी पनि एकले अर्कोलाई सिध्याउने खेल निरन्तर भई रहेकै देखिन्छ । दुवै पक्षले मानवीय संवेदनाका सीमा अतिक्रमण गर्नमा कुनै कसर बाँकी राखेको भने देखिन्न । युक्रेनी पक्षले डोनेत्स्क विमानस्थल कब्जा गर्ने नाममा गरेको आक्रमणमा ठूला विनाशकारी हात-हतियारहरुको प्रयोग गरेको र त्यसबाट भएको ठूलो मानवीय क्षतिका कुराले आम संचार माध्यममा त्यति स्थान पाउन नसकेको जस्तो देखिन्छ । धानखेतमा जुधेका गोरुहरु कालो होस् वा सेतो, जुनसुकैले जिते वा हारे पनि क्षति त किसानकै बालीको त हुने होला नी !

    यथार्थमा युद्धलाई कुनै पनि कोणबाट उचित ठहर्याउन सकिन्न । तसर्थ युक्रेनमा भईरहेको युद्धको गतिबिधिको जतिसक्दो आलोचना गर्नैपर्छ । युद्ध जुनसुकै कोणबाट पनि मानवता बिरोधी गतिबिधि नै हो भन्ने कुरामा कुनै शंका गरिरहनुपर्ने बिषय नै होइन । तर युद्ध हुनु वा युद्ध गर्नु पर्नाको कारणहरुलाई राम्ररी खुट्याउन नसक्ने हो भने युद्धको अवस्था सृजना गर्ने अपराधी पक्षहरु भने युद्ध अपराधको दोषबाट मुक्त भई मानवता बिरोधी क्रियाकलापमा लागि नै रहनेछन् । महाभारतको युद्धमा लडाईं त श्रीकृष्ण र धृतराष्ट्रका बिचमा थियो । ती दुवै निहत्था थिए । तर सामान्य र अबुझ पाठकहरु भने हातमा हतियार लिएका बिभिन्न अन्य पात्रहरु लडेको देख्दछन र बुझ्दछन् । अहिले पनि त्यस्तै भईरहेको छ । फरक मात्र यति हो की यस युद्धमा को श्रीकृष्ण अनि को धृतराष्ट्र हो भन्ने फरक छुट्याउन हामीलाई कठीन भएको छ । 

    बर्तमान समयको रुस र युक्रेन बिचको लडाईंका पछाडी पनि NATO सम्बद्ध मुलुकहरुको चलखेल लुकेको छैन । बिगतमा ईराकलाई कुवेतमा आक्रमण गर्न उक्साउने पक्षले नै अन्ततः ईराकलाई मात्रै दोषी करार गरी ईराकलाई ध्वस्त बनाई बिश्व तेल बजार र हात-हतियार बजार कब्जा गरेर आफ्नो स्वार्थ सिद्ध गरेको तथ्य सामान्य बिश्लेष्ण गर्ने कसैबाट लुकेको छैन । तत्कालिन युगोस्लाभियाको अस्तित्व नै समाप्त गर्ने गरी जसरी जातीय द्वन्दको ब्यूह रचना गरिए । किन र के-का लागि त्यसो गरिए भन्ने कुरा अब पनि स्पष्ट नभएको बिषय रहेन ।

    रुस-युक्रेन युद्धका पछाडी पनि युक्रेनी पक्षलाई बेलुनमा हावा भरे झैं अतिशय रुपमा उचाल्ने काम कसबाट भएको हो भन्ने यथार्थ सबैले बुझेका छन् । त्यसैकारण उतिबेला अमेरिका-ईराक युद्ध ताका जसरी आमरुपमा मानिसहरु ईराक र सद्धामको बिपक्षमा देखिएका थिए सोही तहमा यो युद्धमा रुसी पक्षको खुलेर आलोचना गर्ने आम मानिसहरु देखिएनन् । अधिकांश देशहरु पनि अघि सरेको देखिएन ।

    ईराकको बिनाश र सद्धामको अवसान पछी पनि जत्ति कोशिश गर्दा पनि ईराकी पक्षलाई गरेको दोषारोपण सिद्ध हुन नसक्नु , अनेकौं आरोप लगाई कर्नेल गद्दाफीलाई सत्ताच्युत गरेपछि लिबियाको अर्थतन्त्र झनै ध्वस्त हुनु जस्ता थुप्रै कारणहरुले पश्चिमाहरु आफ्नो स्वार्थसिद्ध गर्न कुन हदसम्म अरुमाथि युद्ध थोपर्न अघिसर्दा रहेछन् भन्ने कुरा त पुष्टि पटक-पटक पुष्टि भईसकेकै छ । सबै मिलेर तह लगाउन सक्ने नै भए खोइ त जे-जत्ति गरे पनि उत्तर-कोरियालाई कति तह लगाउन सके त ? बरु त्यसको नाउँमा त्यहाँका आमजनताको जीवन यापनलाई दुष्कर बनाउने र बाँकी विश्वले उसलाई हेर्ने दृष्टिकोणमा क्षति पुर्याउने भन्दा अरु के नै हुन सक्यो र ?

    ukrane-war.jpg

    फेरी संचार माध्यमहरुको बिश्व स्तरमै सहज पहुँच भएपछीको अवस्थामा आम-मानिसहरु समेत प्रायोजित  समाचार र बास्तबिक समाचारको अर्थ र उद्देश्य बुझ्न खप्पिस भई सकेको बर्तमान अवस्थामा तिनै संचार माध्यमहरुले सबैलाई संधै उस्तै किसिमले उल्लु बनाउन सकिन्छ भनेर कसरी सोच्न सकेका होलान? हामीले त झन् नेपाल सँगका बिभिन्न सन्दर्भमा भारतीय न्यूज मिडियाले कसरी प्रायोजित समाचारहरु सम्प्रेषण गरेको थियो र अहिले पनि बेला बखत गर्ने गर्दछ भन्ने नबुझेका छौं र?     

    आजभन्दा १४ दिन अघिसम्म पनि रुसले युक्रेनमा आक्रमण गरे “हामी युक्रेनलाई साथ् दिन्छौं”, हामी पनि युद्धमा होमिन्छौँ , युक्रेनले डराउनै पर्दैन”, “नडराउ युक्रेन ! हामी तिम्रा साथमा छौं ।” भनेर कुर्लने देशहरु रुसलाई नाकाबन्दी गर्ने धम्की दिनु नै सफलता हो भन्ने परिदृश्य सृजना गरेर रमाएको अवस्थाले बिश्व परिस्थिति कस्तो रहेछ त भन्ने देखिईहाल्यो त । यता जर्मनी र इटाली त रुसलाई नाकाबन्दी गर्ने प्रस्तावको बिपक्षमा गई नै सक्यो । यथार्थ त के हो भने बर्तमान विश्वमा सामरिक सामर्थ्यको साथ-साथै आर्थिक निर्भरताको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ ।

    फेरी हुनसक्छ रुस भन्दा अमेरिका र युरोपीय देशहरुको संयुक्त शक्ति पक्कै बलियो होला । तर के त ती सबै युद्धमा होमिए यो बिश्व यस्तै रहला ? परमाणु बमको त्रासदी मात्रै नभई “कोरोना” महामारीको आतंकमा त बिश्व नै निरिह बन्नु पर्र्यो भने अबको तेस्रो बिश्वयुद्धको बिजारोपण गरेर यो धरतीमा को सुरक्षित रहला? हतियार खरिद गर्नका लागि दिइने पैसाले मानवता किन्न सकिन्न । हतियार दिएर सुरक्षित छु भन्ने भावना जगाउन पनि सकिन्न । त्यसो गर्न सकिने भए आज हरेक अमेरिकीले आफू सुरक्षित रहेको महसूस गर्न सक्नु पर्ने थियो ।

    तर बर्षेनी त्यहाँका स्कूल-कलेज र सार्बजनिक स्थानमा भएका गोलीकाण्डहरुले त्यसलाई पनि झुठ साबित गरिदिएको छ । त्यसैले अब आम अमेरिकीहरुनै हात-हतियार राख्न पाउने कानूनमा संसोधन हुनुपर्ने कुराको वकालत गर्दैछन् । युक्रेनी राष्ट्रपति महोदय पनि यस्तै भ्रममा परे । अरुले दिएको हतियारको आडमा आफ्नै छिमेकीलाई तर्साउन सक्छु भन्ने भ्रममा पर्दा आज आफ्नै आम नागरिकलाई बन्दूक बोक्न लगाएर मुलुकलाई सुरक्षित बनाउन आह्वान गर्नु पर्यो । हिजो तिम्रो लागि हामी लडीदिन्छौँ भन्नेहरुले केही थान हतियार र आर्थिक सहायता उपलब्ध गराएर सहयोग गरेको डिंग हाँक्दैछ्न् ।

    के त हतियार मात्रैले हुँदो रहेछ त? फेरी तालिम बिनाका असैनिक नागरिकहरुलाई युद्धमा आह्वान गर्नुलाई भावनात्मक रुपले त ठिकै भन्न सकिएला तर के त्यसरी तिनका नागरिक सुरक्षित होलान् ? तिनै हतियार यदि खराब प्रवृत्तिका मानिसहरुका हातमा परेमा त्यहाँ मच्चिन सक्ने आन्तरिक लुटपाटबाट जनता सुरक्षित होलान् ? देशका लागि लड्नु-मर्नु पक्कै पनि गौरव कै कुरा होला । तर के-का लागि ? खर्बुजामा चक्कु खसोस वा चक्कुमा खर्बुजा दुवै अबस्थामा चोट त खर्बुजालाई नै लाग्ने त होला नी !

    युद्धको पटाक्षेप:

    अन्तत: युद्धको १४ दिन पश्चात् युक्रेनले अब NATO गठबन्धनमा सामेल नहुने र रुसी शर्तहरुलाई मान्ने संकेत गरेको छ भने रुसले पनि युक्रेनको स्वतन्त्रतामा हस्तक्षेप नगर्ने संदेश दिंदै आएको छ । यसरी एकजना अपरिपक्व नेताले समस्याको कुटनीतिक समाधानको क्षमता गुमाउंदा सृजना भएको बर्तमान युद्धको परिस्थितिका लागि प्रत्यक्ष वा परोक्ष जिम्मेवार को हो ? आम जनतालाई भेंडा-बाख्रा सरह सोच्नु भन्दा तिनको सट्टा जीवनका लागि युद्धको अबस्था नै आउन नदिनु बुद्धिमानी हुने थिएन र?

    रुसी आक्रमणको दौरानमा युक्रेनमा भएको मानवीय र आर्थिक क्षति र बिश्व शक्ति राष्ट्रहरुको निरीहताले युक्रेनले रुसी सुरक्षा चासोको बिपरित जानु सहज छैन भन्ने बुझी सकेको छ । यी दुवै देशले एकले अर्कोको स्वतन्त्रता, सम्मान्  र सुरक्षाको ख्याल गर्नु नै युद्धको बिकल्प हुन सक्छ । यसर्थ राष्ट्रिय स्वतन्त्रताको प्रश्न संगै असंलग्न परराष्ट्र नीति अबलम्बन गर्नु पनि युक्रेनको हीतमा हुने देखिन्छ । पश्चिमा मुलुकहरुको उक्साहटमा लागेर असंलग्न कुटनीतिलाई तिलान्जली दिनु युक्रेनलाई निकै महँगो पर्न गएको हो ।

    कुनै पनि अबस्थामा छिमेकी बदल्न सकिन्न भन्ने सत्यलाई आत्मसात् गर्दै राष्ट्रिय कूटनीतिमा असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताको महत्वलाई बेलैमा बुझ्न सकेको भए आज युक्रेनले युद्धको विभीषिकाबाट गुज्रिनु पर्ने थिएन । शक्ति राष्ट्रले पनि आफ्नो कमजोर छिमेकीलाई सम्मानजनक रुपले संगै अघि बढाउने प्रयत्न गर्नसके मात्रै आफ्नो उपलब्धीलाई सुदृढ बनाउन सक्दछ, अन्यथा बलियो राष्ट्र पनि संधै बलियो रहिरहन नसक्ने संदेश रुस-युक्रेनको बर्तमान युद्धले स्पष्ट पारेको छ ।

    यसै कारण अहिले पनि असंलग्न कुटनीति उत्तिकै महत्वपूर्ण छ भन्ने सत्यलाई स्थापित गरिदिएको छ । मानव कल्याणका लागि शान्तिको बिकल्प अरु केहि पनि हुन सक्दैन । युद्धका कारुणिक दृश्य देखेर द्रवित हुनु वा उत्तेजित हुनुभन्दा राष्ट्रहरुका बिचमा बेलाबखत देखिने समस्याहरुको कुटनीतिक समाधानको बाटोबाटै समाधान खोज्नुको विकल्प हुनै सक्दैन ।

    २०७८, फाल्गुण २७ शुक्रवार०५:५६:११

    बिनोद जोशी

    प्रतिक्रिया
    सम्बन्धित समाचार