फागुपूर्णिमामा जथाभावी रङ दल्नेलाई कारबाही

फागुपूर्णिमामा जथाभावी रङ दल्नेलाई कारबाही

२०७८, चैत्र ३ बिहिवार

  • 817
    SHARES

  • फागुपूर्णिमामा जथाभावी रङ दल्नेलाई कारबाही

    काठमाडौँ । फागुपूर्णिमा अवसरको रुपमा लिएर बालबालिकादेखि वृद्धवृद्धाले एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ।

    किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुका परम भक्त थिए।

    हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठाँन्दथे। तर, उनको पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे। त्यो कुरा उनले सहन सकेन। जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए।

    अन्ततस् उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए। तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलिका भने भस्म भइन्।

    अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ।

    बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेसमा होलीको रुपमा मनाइँदै छ।

    रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ।

    होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ।

    बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ।

    उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

    महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ। बिहानैदेखि मापसे कडाइका साथ परीक्षण गर्ने महाशाखाले जनाएको छ।

    २०७८, चैत्र ३ बिहिवार०७:२२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार