काठमाडौं । दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ) को छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
दाङको लमहीमा चैत्र २४ - २७ सम्म चलेको महाधिवेशनले जेबि बिश्वकर्मा अध्यक्ष र एकराज लकान्द्रीलाई महासचिव बनाउँदै सर्वसम्मत रुपमा ५३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा त्रीलोक चन्द्र बिक, उपाध्यक्षहरुमा नरबहादुर बिश्वकर्मा, डि बि शाह शङ्कर, सुशील बिके, लक्ष्मी नेपाली, जितेन्द्र पासवान, जित ब बिक, बुद्धिराम हरिजन, धिर ब ओड, धनबहादुर मिजार र नाथुराम परियार; उपमहासचिवमा युवराज दर्नाल र नारायण बिक; सचिवमा कमल बिश्वकर्मा, रमेश कोलि, कृष्ण बिक, कृष्ण गजमेर, राजन लोहनी र कोषाध्यक्षमा सन्जु सिंह बिश्वकर्मा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्षलाई महासंघको विधानमा पदेन सदस्यको व्यवस्था गरिएको छ । जसमा राष्ट्रिय सभाका पूर्व सांसद रामलखन हरिजनको प्रतिनिधित्व हुनेछ । समितिको कार्यकाल ५ वर्षको हुनेछ ।
सामाजिक न्यायको आन्दोलनमा देशै भरिका दलित अधिकार, मानवअधिकारका क्षेत्रमा संघर्षरत दलित संघ संगठनहरुको छाता संगठन (दलित गैरसरकारी संस्था महासंघ ) को रुपमा यसले काम गर्दै आएको छ ।
महाधिवेशनले ५ वर्षे रणनीति समेत तयार गरेको छ । यस रणनीतिले संघ, प्रदेश र स्थानिय सरकारलाई आफ्नो रणनीति तयार गर्न महत्वपूर्ण सुझाव प्रदान गरेकोछ ।