बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला

२०७९, जेठ १७ मंगलवार

  • 1.2K
    SHARES

  • बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला

    पोखरा । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको -एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। 

    यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो।

    सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। विमानमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मन नागरिक गरी २२ जना रहेका थिए।

    आइतबार बिहान हराएको यो विमानको दिनभर खोजी गर्दा पनि पत्तो लागेको थिएन, विभिन्न अड्कलबाजी मात्र गरिएको थियो। त्यही अड्कलबाजी अनुसार खोज्दै जाँदा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहाननजिकै सानोसरेको पहाडमा ठोक्किएर चकनाचुर अवस्थामा विमान फेला परेको थियो।

    दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो। करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए । 

    विमानमा रहेका २१ जनाको शव सोमबार बेलुकीसम्म फेला परेको उनले जानकारी दिए । ‘निकै ठुलो भीरमा विमान ठोक्किएको रहेछ, विमान टुक्राटुक्रा भए पनि आगलागी भने भएको थिएन। जसले गर्दा शव पहिचान गर्न सहज हुने अवस्था छ,’ उनले भने, ‘तर शवको अवस्था भने छियाछिया छ।’

    विमान दुर्घटनास्थल पहिचान गर्न आइतबार दिनभर प्रयास गरेको भए पनि मौसम खराबीले सफल हुन सकेको थिएन। घटनास्थलकोे मौसम छिनछिनमा बदलिने गरेको प्रहरी निरीक्षक तामाङले बताए । 

    ‘छिनछिनमा मौसम बदलिन्छ, तलबाट उडेको हेलिकोप्टर माथि पुग्न नपाउँदै बादलले ढाक्छ, त्यसले गर्दा समस्या भएको हो,’ उनले भने । उनका अनुसार दुर्घटनास्थल पहिचान गर्नका लागि गाउँलेले पनि निकै सहयोग गरे। स्थलमार्गबाट गएका गाउँले र हेलिकोप्टरबाट पुगेको सुरक्षाकर्मीको टिमले सोमबार बिहानैदेखि उद्धार सुरु गरेका थिए।

    २०७९, जेठ १७ मंगलवार०७:२०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार