काठमाडौँ । आज जेठ १९। नेपालीहरू यस दिनलाई कालो दिनको रूपमा लिने गर्दछन्। आजकै दिन बेलुका राति २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको थियो।
यही दिनको सम्झनास्वरूप नेपालीहरूले आजको दिनलाई कालो दिनका रूपमा लिन्छन्। आज नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ।
हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुती, राजकुमार निराजन, अधिराजकुमारी शान्ति, शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम, धीरेन्द्रको मृत्यु भएको थियो।
तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
तर जनताले भने उक्त प्रतिवेदनमाथि अहिलेसम्म पनि विश्वास गरेका छैनन्। त्यसपछि यो घटनाको कुनै स्वतन्त्र छानबिन भएको छैन।
यद्यपि राजा ज्ञानेन्द्रको शासनकाल पछि प्राप्त भएको गणतन्त्रमा समेत स्व. राजा विरेन्द्रलाई स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् ।