काठमाडौँ । शुक्रवारदेखि परेको अविरल झरिका कारण पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।
जिल्लाको फालेलुङ गाउँपालिका-७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्।
रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।
शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रूपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो।
उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको तर, बिहानसम्म बेपत्ता फेला नपरेको जिल्ला प्रहरीले जनाएको छ।