ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

२०७९, आषाढ २२ बुधवार

  • 809
    SHARES

  • ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

    आयोगले सम्भवतः आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ ।

    ‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’ छलफल गर्ने तयारी छ, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक, २ र ५ मंसिरको मितिमध्ये एक मिति उपयुक्त हुन सक्ने देखिएको छ,’ आयोग उच्च स्रोतले भन्यो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    स्रोतका अनुसार आयोगले यसअघि ३० कात्तिकको मिति प्रस्ताव गर्ने तयारी गरेको थियो । तर, आयोगका उच्च तहका पदाधिकारीनिकट ज्योतिषले सो मिति उपयुक्त नहुने सुझाएपछि आयोगले २ र ५ मंसिरको मितिसमेत विकल्पमा राखेर सिफारिस गर्ने तयारी गरेको हो ।

    उता प्रधानमन्त्री शेरबहादुर देउवा पनि ज्योतिषीलाई हेराएरै मिति तोक्ने गृहकार्यमा छन् । निर्वाचन आयोगको परामर्शमा निर्वाचनको मिति भने सरकारले नै तोक्नेछ ।

    तीनवटा मितिमध्येमा पनि २ मंसिरको मिति अझै उपयुक्त देखिन्छ, शुक्रबारसमेत परेकाले सो मिति उपयुक्त हुन्छ भन्ने छ,’ आयोग स्रोतले भन्यो ।

    यसअघि स्थानीय तह निर्वाचनको मितिसमेत ज्योतिषलाई देखाएरै तय गरिएको आयोग स्रोत बताउँछ । त्यसबखत आयोगले ५ जेठको मिति प्रस्ताव गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीकै सल्लाहमा ३० वैशाखको मिति तय गर्न लगाएका थिए ।

    आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्नेछ । 

    आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिमा समेत छलफल गर्दै आएको छ ।

    २०७९, आषाढ २२ बुधवार०७:४५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार