बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल

बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल

२०७९, आषाढ २५ शनिवार

  • 721
    SHARES

  • बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : अध्यक्ष नेपाल

    रुपन्देही ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । 

    विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखिपरेकाले सचेत रहनुपर्ने बताए । 

    “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”

    राष्ट्रिय हित र सुरक्षालाई केन्द्र विन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बद्ध विस्तार गर्दै जानुपर्ने उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उनको भनाइ छ । 

    अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताए । पाँच दलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उनले देश र जनताप्रति सेवा भाव र समर्पण भाव राख्नुपर्ने बताए ।  “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भने ।

    सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उनले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गरे । आगामी निर्वाचनको मिति घोषणा भए लगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए ।

    पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रष्ट पारे । “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उनले भने ।

    अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मत मात्रै प्राप्त गरेको जनाउँदै उनले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए । 

    काँग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुई तिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए ।

    २०७९, आषाढ २५ शनिवार०६:२५:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार