काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न ४ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गरेको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भयो ।
यस्तै बैठकमा कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गरेको फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधन सम्बन्धी केही कानून संशोधन बनेको विधेयक तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।
छलफलका क्रममा सांसदहरू अनिता देवकोटा, विमला पौडेल राई, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी बेल्वासे दिलकुमारी रावल थापा पार्वती लगायतले शारीरिक तथा मानसिक रुपमा असक्त तथा नाबालिका विरुद्ध हुने यौन हिंसाको मुद्दामा हदम्याद हटाउनुपर्ने बताए ।
राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते बिहीबार बिहान ११ बजे पुनः बस्ने छ ।