चितवन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आगामी संघीय निर्वाचनमा काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन हुने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन कसरी गर्ने या नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
“गठबन्धन गर्दा काँग्रेसलाई कस्तो असर पर्छ र गठबन्धन गरे पनि कम क्षति हुने गरी हुन्छ र हुनुपर्छ ।”, उनले भने ।
गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरी पनि काँग्रेसको हातबाट फुस्किने निश्चित हो भन्ने जिज्ञासामा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
उनले नेपाली काँग्रेसको केन्द्रिय समितिको जारी बैठकमा सङ्घीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको भन्दै कसैले पनि आफ्नो धारणा विचार राख्न सकिने बताए । “बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा होइन ।” उनले भने ।
स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भइरहेको समेत उनले बताए ।