सीमा नाकामा कोरोना संक्रमण बढ्दै,सतर्कताका अपनाउन आग्रह 

सीमा नाकामा कोरोना संक्रमण बढ्दै,सतर्कताका अपनाउन आग्रह 

२०७९, श्रावण ५ बिहिवार

  • 689
    SHARES

  • सीमा नाकामा कोरोना संक्रमण बढ्दै,सतर्कताका अपनाउन आग्रह 

    रुपन्देही । केही दिन यता रुपन्देहीमा कोरोना संक्रमणको बिरामीहरू बढ्न थालेका छन् । भारतबाट सुनौली नाकाहुँदै नेपाल भित्रिनेहरूमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण भेटिन थालेको हो । 

    नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । 

    एक सातायता रुपन्देहीको बेलहिया लगायतका सर्वसाधारणको जमघट हुने स्थानमा गरिएको परीक्षणका क्रममा धेरै जनामा संक्रमण पुष्टि भएसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सतर्कताका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्य अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लगाएका सङ्क्रमितमा खासै गम्भीर स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । खोप नलगाएका, विभिन्न दीर्घ रोग भएका बिरामी र बालबालिका जोखिममा रहेको जनाउँदै कोरोना सङ्क्रमणको वर्तमान अवस्थाबारे जानकारी लिने र रोकथामका लागि भइरहेका कामलाई निरन्तरता दिने डीसीसीएमसीबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सीमा नाकामा कोरोना संक्रमण जाँच बढाउने निर्णयसमेत भएको उनले बताए ।

    स्थानीय तह, अस्पतालमा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण, तयारी अवस्थामा राख्ने तथा अक्सिजन प्लान्ट सञ्चालनको तयारीबारे सरोकारवालासँग छलफल गरिएको उनले बताए । नाकामा रहेको होल्डिङ सेन्टरलाई चलायमान बनाउन आवश्यक पूर्वाधार थप गर्न निर्देशन दिइएको पाण्डेको भनाइ छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले नाकामा कोरोना परीक्षण बढाइएको र सङ्क्रमणको अवस्था पत्ता लगाउन विद्यालय, कलेज र भिडभाड क्षेत्रमा एन्टिजेन परीक्षण बढाइएको बताए । बेलहियास्थित हेल्थ डेस्कमा खटिएका कर्मचारीले भारतबाट फर्किनेको बसाइँ विवरण हेरेर उनीहरूको कोरोना परीक्षण गरेर पठाउने गरेको उनले बताए ।

    नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेकाले समस्या बढेको उनको भनाइ थियो । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा  नगरपालिका र बुटवल उपमहानगर गरी २४ जनामा संक्रमण पुष्टि भएका छन् । सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा छन् ।

    २०७९, श्रावण ५ बिहिवार०२:२१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार