राष्ट्रपति भण्डारी उत्तरगयामा

राष्ट्रपति भण्डारी उत्तरगयामा

२०७९, श्रावण ६ शुक्रवार

  • 1.7K
    SHARES

  • राष्ट्रपति भण्डारी उत्तरगयामा

    नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजा अर्चना गर्नुभएको छ ।

    नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उहाँले  जानकारी लिनुभएको हो ।

    आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा आउनुभएको राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा जानुभएको थियो ।

    बेत्रावतीमा उहाँलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गरेका थिए । 

    राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका–५ मा रहेको राम मन्दिर र विष्णु पादुकामा पूजा गर्नुभएको थियो । 

    मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उहाँले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताउनुभयो । राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्त्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिनुभएको थियो ।

    जिसस प्रमुख घिमिरेले यहाँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको बारेमा जानकारी गराएका थिए । उनले  यस स्थललाई बृहत् धामको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गरे । जिसस प्रमुख घिमिरेले भने, “यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्ने छ ।”

    उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बेत्रावती क्षेत्रको बृहत् विकासका लागि स्थानीय सरकारको स्रोत र साधनले नभ्याउने भएकाले सङ्घीय सरकारले नै गुरुयोजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिँदै पहलका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । राम मन्दिर संरक्षण समितिका अध्यक्ष सोमलाल लबटले राम मन्दिरको गुठीलाई राजगुठी बनाउन पहल गरिदिन अनुरोध गरे । 

    स्थानीयवासीले राष्ट्रपतिसमक्ष उत्तरगया क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको, गल्छी–त्रिशूली–र सुवागढी त्रिदेशीय राजमार्गको निर्माणमा ढिलो भएको र स्थानीयवासीले मुआब्जासमेत नपाएको गुनासो गरेका थिए । 

    राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका सङ्घीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानीसमेत गर्नुभएको थियो ।

    २०७९, श्रावण ६ शुक्रवार०४:०८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार