उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

२०७९, श्रावण १२ बिहिवार

  • 953
    SHARES

  • उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके

    काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् ।

    यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो । 

    सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी  नगरपालिका–१ का  अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

    कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुन नसकेको हो ।

    एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । 

    हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो  । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ ।

    उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

    २०७९, श्रावण १२ बिहिवार०१:५०:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार