संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

२०७९, श्रावण १३ शुक्रवार

  • 761
    SHARES

  • संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

    काठमाडौँ । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । 

    विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । 

    समितिका सभापति लक्ष्मणलाल कर्णले आज सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।  

    “संसदीय छानविन विशेष समितिको बिहीबार अन्तिम बैठक बस्यो । प्रतिवदेन तयारी गर्ने कुरा सम्पन्न भएको छ”, उनले भने, “आज समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । समितिका सभापतिले प्रतिवेदन पेश गर्नुहुनेछ ।” प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए ।  

    गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरिने घोषणा गरेका थिए ।  

    समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।  

    संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका थिए । समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । 

    तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।

    २०७९, श्रावण १३ शुक्रवार०८:००:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार