गृहमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिबारे सम्बन्धित निकायसँग जानकारी

गृहमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिबारे सम्बन्धित निकायसँग जानकारी

२०७९, श्रावण १५ आइतवार

  • 769
    SHARES

  • गृहमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिबारे सम्बन्धित निकायसँग जानकारी

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् ।

    गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् । 

    घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य गर्न र जिल्ला र प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन उनले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । 

    खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो । 

    भूकम्पबाट साकेला गाउँपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर, डाडागाँउ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गङ्गा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ । 

    अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेको बारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । 

    कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताए ।

    २०७९, श्रावण १५ आइतवार०१:३९:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार