काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको अन्तर पुस्ता सीप हस्तान्तरण महत्त्वपूर्ण हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तर पुस्ता सीप हस्तान्तरणमा चुनौती देखिए पनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले युवा उद्यमशीलतालाई सरकारले प्राथमिकता दिएको बताउँदै युवालाई जीवनोपयोगी सीप सिकाइ स्वदेशमा नै जीविकोपार्जनको अवसर दिनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय युवा दिवसजस्ताले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने समेत बताए ।
उनले देश विकासमा युवाको भूमिका महत्त्वपूर्ण रहने भन्दै सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषद्ले युवा उद्यमशीलतामा जोड दिनुपर्नेमा जोड दिए ।