काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्दै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारको लागि सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराइने भएको छ ।
प्रतिनिधिसभाको आज बस्ने बैठकको सम्भावीत कार्यसूचीमा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।
आजको बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी आजकै बैठकमा स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन)विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र आजै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।